शेयर बजारको गिर्दो क्रम जारी
काठमाडौं, २० जेठ । साताभर लगातार भइरहेको गिरावटले शेयर बजारमा रोकिएको छैन । यो साता शेयर कारोबार भएका पाँचै दिन बजारमा गिरावट देखिएको हो ।
कारोबार हुने साताको अन्तिम दिन आज शुक्रबार शेयर कारोबार मापक नेप्से ३३.७६ अंकले घटेको छ । यो अघिल्लो दिनेको तुलनामा १.६ प्रतिशतले कमी हो ।
कूल २२६ कम्पनीको २६ हजार ६ सय ९३ पटक कारोबार हुँदा ३८ लाख ४८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भए । जसमा १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५ सय ४१ रुपैयाँ बराबरको शेयर किनबेच भए ।
कारोबार भएका १३ कम्पनी समुहका सबै उपसुचकले शुक्रबार घाटा व्यहोरेको स्टक एक्सचेञ्जले जनाएको छ ।
शुक्रबार १७ कम्पनीको शेयर मूल्य बढ्दा १७४ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ४ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन ।
यो साता लगातार घटेको बजारमा शेयर कारोबार हुने साताको पहिलो दिन गत सोमबार ५०.३३ अंकले घटेको बजार मंगलबार ३५.५३ अंकले घटेको थियो । बुधबार ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा झरेको बजार बिहीबार पुनः घटेको हो । बिहीबार १८.२६ अंकले घटेर बजार २११२.४७ बिन्दुमा झरेको बजार शुक्रबार पनि उहि बाटो छेड्न सकेन ।
शेयर बजारमा यो साता पाँच दिनको कारोबारमा १४५.०९ अंकको गिरावट भएको छ । जसले बजेटपछि बजार थामिने आशमा रहेका लगानीकर्ता निराश भएका देखिएका छन् । आइतबार संसदमा बजेट प्रस्तुत हुँदा शेयर बजारको चाख लिइरहेकाहरूले खास सम्बोधन पाएनन् । त्यसले गर्दा पनि सोमबारदेखि नै कारोबारले लिएको नयाँ बाटो अनिश्चित र आधारहीन देखिएको शेयर जानकार नवराज अधिकारी बताउँछन् ।