अर्थमन्त्री शर्माले गर्दा उद्योगीमा फुट
काठमाडौं, २४ जेठ । चालु आर्थिक वर्षको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले करका दरमा पनि हेरफेर गर्दा ठूला व्यवसायीहरू खुलमखुला विभाजित भएको देखिएको थियो ।
नेपालमा डन्डी उत्पादन गर्ने व्यवसायीहरूको संगठन नेपाल रोलिङ स्टिल मिल्स एसोसिएसन फुट्यो । यो संघ फुटेको भन्दा पनि अस्तित्वमै नरहेको स्वयम् पदाधिकरीहरू स्वीकार गरेका थिए ।
२०४९ सालमा स्थापना भएको यो संघ फुटको मुख्य कारण अर्थमन्त्री शर्माको कर नीतिको आरोप लागेको थियो ।
यसैगरी आगामी आर्थिक वर्षको बजेटमा पनि अर्थमन्त्री शर्मालाई आरोप लागेको छ । प्रतिस्थापन आर्थिक ऐनबाट डन्डी उद्योगी फुटाएका शर्माले आगामी वर्षको विधेयकमा भएको व्यवस्थाबाट विशेषगरी बिस्कुट र तेल घिउ उत्पादक उद्योगीबीच विभाजनको रेखा कोरिदिएका छन् ।
शर्माले बिस्कुट तथा चाउचाउ उद्योगीका लागि भन्दै पाम र पामोलिन तेलमा लाग्दै आएको भन्सार शुल्क घटाइदिएपछि उद्योगी व्यवसायीहरू आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
बिस्कुट उद्योगका लागि पाम र पामोलिन तेल कच्चा पदार्थ हो। तर तेल घिउ उत्पादक उद्योगका लागि भने यो अन्तिम उपभोग्य वस्तु हो । यही कुराको विवाद कर नीतिमा देखिएको छ । विशेषगरी तेल उत्पादकहरूले बिस्कुट उद्योगीको प्रभावमा आएर अर्थमन्त्रीले यो नीति ल्याएको आरोप लगाएका छन् । प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन गरेरै तेल घिउ उत्पादक संघले यस्तो आरोप लगाएको छ ।
अर्थमन्त्री शर्माले आर्थिक विधेयकमा उद्योगका लागि पाम तथा पामोलिन तेलको भन्सार दर घटाएर ५ प्रतिशत कायम गरिदिएका छन् । यसबाट बिस्कुट उद्योग फस्टाउने उद्योगीहरूको भनाइ छ । उनीहरूले अर्थमन्त्रीलाई धन्यबाद दिएपनि तेल घिउ उत्पादकहरूले भने बिस्कुट उत्पादक संघको नामै किटेर अर्थमन्त्रीको विरोध गरेको छ ।