Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्ने प्रक्रिया स्वागत योग्य : इप्पान

आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्ने प्रक्रिया स्वागत योग्य : इप्पान


काठमाडौं, २५ जेठ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षा याममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्नका लागि प्रक्रिया अघि बढाएकोमा स्वतन्त्र ऊर्जा उत्पादनकहरुको संस्था, नेपाल –इप्पानले यो कार्यलाई स्वागत गरेको छ ।


प्राधिकरणको यस कदमले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने मुलुकको बहुप्रतिक्षित सपना साकार हुने अवस्थाको सुरुआत भएको इप्पानले बताएको छ । यसबाट विद्युत व्यापारको क्षेत्रमा नयाँ अध्यायको सुरुआत हुने र आगामी दिनहरुमा यसले थप उचाई प्राप्त गरोस भन्दै ईप्पानले शुभकामना व्यक्त गरेको छ ।

अघिल्लो वर्षको वर्षायाममा ३९ मेगावाट बिजुली निर्यात गर्न शुरु गरेको प्राधिकरणले यो वर्ष ३६४ मेगावाटसम्म निर्यात गर्न सक्ने अवस्थामा पुग्नु अत्यन्त सुखद कुरा हो । यसले आगामी दिनहरुमा नेपालको जलविद्युतले छिमेकी मुलुकहरुमा अझै राम्रो बजार प्राप्त गर्न सक्ने आधार र विस्वासको निर्माण गरेको छ । नेपालको विद्युत ब्यापारको यस्तो प्रगतिशील कदमले उर्जा क्षेत्रका निजी लगानीकर्ताहरुमा ठूलो आशा, विस्वास र हौसला बढाउनुको साथै यो क्षेत्रमा देशी, विदेशी लगानीकर्ताहरु थप आकर्षित गराउने निश्चित रहेको बताइएको छ ।

विद्युत निर्यातको लागि प्राधिकरणले भारतीय कम्पनीहरू मानिकरण पावर लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडलाई टेन्डर छनोट प्रक्रिया अगाडी बढेको छ । छनोट भएकामध्ये, मानिकरणले प्रतियुनिट भारु ४.८६ (७.७७६ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट र एनभिभिएनले प्रतियुनिट भारु ४.३० (६.८८ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट गरी २०० मेगावाट बिजुली खरिद गर्ने छ । यसबाट प्राधिकरणले आगामी जुलाई १ देखि नोभेम्बर १५ (असार १७ गतेदेखि कात्तिक २९ ्गते) सम्म ६४ करोड ८० लाख युनिट बिजुली बिक्री गरी ४ अर्ब ७४ करोड ८५ लाख ४४ हजार रुपैयाँ आम्दानी गर्नेछ । सम्झौताअनुसार मानिकरणले एनभिभिएनभन्दा प्राधिकरणलाई २९ करोड ३ लाख रुपैयाँ बढी भुक्तानी गर्नेछ ।

इप्पानले यो उपलब्धीलाई ऊर्जा उत्पादनमा निजी क्षेत्र संलग्न भएको उपजका रुपमा लिएको छ । करिब तीन दशक अघिदेखि ऊर्जा उत्पादनका क्षेत्रमा निजी क्षेत्रको सार्थक सहभागिताका कारण हाल वर्षा याममा १००० मेगावाटभन्दा अधिक बिजुली आन्तरिक खपतभन्दा बढी हुन थालेको छ । यसरी बढ़ी हुने १००० मेगावाट मध्ये ३६४ मेगावाट विनिमय बजारमा तथा २०० मेगावाट मीडियम टर्म बजारमा बिक्री हुनेछ तथापी बांकी ४३६ मेगावाट को भने अझै बजार खोज्नु पर्ने नै देखिन्छ ।

यद्यपि विद्युत ब्यापारमा अहिले नेपाल सरकारको मात्र सहभागिता रहेको छ । मुलुकमा वर्षेनी ठूलो परिमाणमा विद्युत उत्पादन हुन थालेको वर्तमान परिपे्रक्ष्यमा विद्युत उत्पादन, प्रशारण र वितरण अब सरकारले मात्र गर्न संभव छैन । यसका लागि सरकारले विद्युत ब्यापारमा निजी क्षेत्रको सहभागिताका लागि मार्गप्रशस्त गरिदिनुपर्छ । सरकारले विद्युत ब्यापारमा निजी क्षेत्रको सहभागी गराउन भनेर निर्माण गरिरहेको ऐन, कानुन तथा लाइसेन्सको प्रक्रिया अत्यन्त सुस्त गतिमा अघि बढ्दा १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का पुग्ने देखिन्छ । तसर्थ, विद्युत व्यापार निजी क्षेत्रको लागि खुला गर्ने कार्यलाई यथाशीघ्र अघि बढाउन इप्पानले माग गरेको छ । साथै, विद्युत बजारको सुनिश्चितता हुंदै गएको परिप्रेक्ष्यमा निजी क्षेत्रको लगानीमा उत्पादन हुने विद्युतको खरिद बिक्री समझौत (पिपीए) पनि सुचारु हुने इप्पानको विश्वास रहेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x