अरुण तेश्रोको शिलान्यास, प्रधानमन्त्री ओलीले उठाए हवाई मार्ग र प्रतिबन्धित भारु सटहीको मुद्दा
काठमाडौं, वैशाख २९ । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा शुक्रबार साँझ अरुण तेश्रो जलविद्युत् आयोजना निर्माणको शिलान्यास गरेका छन् । संखुवासभा जिल्लामा रहेको यो आयोजना भारतीय सरकारी स्वामित्वको कम्पनी सतलज जलविद्युत् निगमले निर्माण गर्न लागेको हो । एक अर्ब २० करोड अमेरिकी डलर लागत अनुमान गरिएको यो आयोजनाको निर्माण कार्य अघि बढाउन बाँध र विद्युत् गृह निर्माणका लागि निर्माण कम्पनी छनौट भैसकेको छ भने निर्माण सामग्रीहरु पनि परियोजनास्थलमा पुर्याइसकिएको छ । आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ ।
सतलजले विद्युत् निर्यातका लागि यो आयोजना निर्माण गर्न लागेको हो । ९०० मेगावाटको यस आयोजनाको २१ दशमलव ९ अर्थात् १९७ मेगावाट प्रतिशत बिजुली नेपालले प्राप्त गर्नेछ । स्थानीय ३,००० व्यक्तिलाई रोजगारी सिर्जना गर्ने बताइएको छ । नेपालमा निर्माण सम्पन्न भएका र निर्माणको क्रममा रहेकामध्ये अरुण तेश्रो अहिलेसम्मकै ठूलो आयोजना हो । यस आयोजनाबाट उत्पादित विद्युत् ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनमार्फत् भारतमा बिक्री गरिनेछ । लगानी बोर्ड र सतलजबीच २०७१ सालमा अरुण तेश्रोको परियोजना विकास सम्झौता भएको थियो । परियोजना विकास सम्झौता भएको थियो । लगानी बोर्डले यस आयोजनाको वित्तिय व्यवस्थापनाका लागि दुई पटक अवधि थप गरिसकेको छ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको केही दिनअघि मात्र यस आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरिएको हो । यस आयोजनाको वित्तिय व्यवस्थापनका लागि आगामी भदौसम्मको अवधि दिइएको छ ।
आयोजनाको शिलान्यासपछि मन्तव्य राख्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालको हवाई ट्राफिकलाई भैरहवा र सिमरामा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा उडान तथा अवतरका लागि एयर रुट उपलब्ध गराउन प्रधानमन्त्री मोदीसमक्ष माग गरेका थिए । त्यस्तै, उनले प्रतिबन्धित ५०० र १००० दरका भारतीय नोटहरुको सटहीको मुद्दा पनि उठाएका थिए ।