बजेटको जवाफ दिए लगत्तै नागरिकता विधेयक ल्याइने प्रधानमन्त्री देउवाको आश्वासन
काठमाडौं, ३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिए लगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् ।
सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका लोसपाका नेताहरुसँग प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिए लगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका हुन् ।
‘आज हामी बालुवाटार पुगेका थियौँ । प्रधानमन्त्रीले बजेट लगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिनुभएको छ,’ लोसपा नेता शरदसिंह भण्डारीले भने ।
लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर आफूहरुले बुझाएको ११ बुँदे मागसहितको ज्ञापन पत्रका विषय ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले तत्काल नागरिकताको समस्या समाधान गर्न गरेको आग्रहलाई स्विकार्दै प्रधानमन्त्री देउवाले नागरिकता विधेयक ल्याइहाल्ने बताएको भण्डारीले बताए ।
साथै जेल जीवन बिताइरहेका आफ्ना नेता रेशम चौधरीलाई कारागारमुक्त गराउन पनि उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
तराई मधेस संयुक्त बजेट कटौतीको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता भण्डारीले जानकारी दिए ।