Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

अर्थ मन्त्रालयको स्पष्टोक्ति–बजेट निर्माणमा जिम्मेवार पदाधिकारीबाहेकको सहभागिता छैन

अर्थ मन्त्रालयको स्पष्टोक्ति–बजेट निर्माणमा जिम्मेवार पदाधिकारीबाहेकको सहभागिता छैन

काठमाडौं, ३१ जेठ । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ मन्त्रालयले बजेट निर्माणको प्रक्रियामा जिम्मेवार पदाधिकारीबाहेक अन्य व्यक्तिको सहभागिता नभएको दाबी गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै उक्त दिन अर्थमन्त्रीले कसैसँग भेट नै नगरेको दाबी गरेको हो।

शर्माले अनधिकृत रुपमा बजेटका सूचना लिक गराउने गरि अधिकार नै नभएका व्यक्तिलाई प्रवेश गराएको सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि शर्मा राजीनामा दिनुपर्ने दबाबमा छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत राजीनामा दिन निर्देशन दिएपछि दबाबमा परेका मन्त्रीको बचाउमा अर्थ मन्त्रालय उभिएको हो।

‘आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमाका क्रममा १४ जेठ,२०७९ मा अर्थमन्त्री सामान्यतः सूचीकृत दैनिक औपचारिक कार्यक्रमबाहेक हरेक दिन बिहान ७ः३० बजे मन्त्रालय आउने र राति अबेरसम्म रही बजेटलाई पूर्णता दिन मन्त्रालयका अधिकारीहरुसँग निरन्तर छलफल गर्ने कार्यमा खट्नुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘सोही सोही क्रममा बजेटलाई अन्तिम रुप दिने सन्दर्भमा १४ जेठ, २०७९ मा समेत बिहानैदेखि मन्त्रालयमा अर्थमन्त्रीको नेतृत्वमा सचिव, राजस्व सचिव र मन्त्रालयका सम्वन्धित महाशाखा प्रमुखहरु तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतका बजेटसँग सम्वन्धित विषयहरु तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीबाहेक अरु कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौं।’

सरोकारवाला निकायसँग परामर्श/अन्तरक्रिया प्रारम्भ गरेको, मन्त्रालयका सहसचिवको नेतृत्वमा बजेट मस्यौदा समिति गठन गरेको तथा सर्वसाधारणको प्रतिक्रिया, सुझाव संकलनबाट मन्त्रालयले बजेट निर्माण गरेको दाबी अर्थ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x