कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट
काठमाडौं, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा करिब ४ अर्ब कम बजेट प्रस्तुत गरेका हुन् ।
विनियोजित बजेटमध्ये चालूतर्फ ९ अर्ब १६ करोड ९९ लाख, १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार पुँजीगत र ४ अर्ब एक करोड ५७ लाख वित्तीय हस्तान्तरणतर्फ रहेको छ ।
मन्त्री विष्टले आगामी आर्थिक वर्षको लागि भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य र शिक्षामा तीव्र विकास गर्ने, बहुआयामिक गरिबी न्यूनीकरण गर्ने, कर्णालीलाई लगानी प्रदेशको रूपमा विकास गर्ने, विभेद अन्त्यका लागि सबै वर्गको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ बजेट ल्याइएको छ ।
शीघ्र प्रतिफल प्राप्त हुने र अधुरा आयोजना पूरा गर्ने, सवल र दक्ष जनशक्ति उत्पादन, स्वावलम्बी र सीपमूलक जनशक्ति उत्पादन गर्न आधुनिक पाठ्यसामग्री निर्माण, मौसमअनुकूल कृषि बालीको वृद्धि, उद्योगमार्फत् तुलनात्मक लाभका वस्तु उत्पादन, पर्यटकीय पूर्वाधारमा लगानी जस्ता विषय बजेटको प्राथमिकतामा छन् ।
कर्णाली प्रदेश सडक गुरुयोजना बनाइनेछ । प्रादेशिक सडक ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । भेरी र कर्णाली कोरिडोर निर्माण र स्तरोन्नतिका लागि संघीय सरकारसँग सहकार्य गरिनेछ । प्रदेशका सबै जिल्लामा कम्तिमा एउटा सडक आयोजनालाई प्रदेश महत्त्वको आयोजनाको रुपमा सञ्चालन गरिने । प्रकोप प्रतिरोधी, सुरक्षित व्यवस्थित र अपांगमैत्री भवन निर्माण गरिनेछ ।
संघीय सरकारबाट हस्तातन्तरण भई आएका तथा प्रदेश सरकारको लगानीमा निर्माण कार्य सुरु भएका तर कार्य सम्पन्न हुन बाँकी रहेका क्रमागत, अधुरा तथा रुग्ण आयोजनाहरु सम्पन्न गर्ने आयोजनालाई बजेटमा प्राथमिकता दिइएको छ ।
यो कर्णाली प्रदेशको पहिलो सरकारको अन्तिम बजेट हो । हालसम्म पाँच आर्थिक वर्षमा कुल ९८ अर्ब ६१ करोड ६६ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरेको सरकारले चालु आर्थिक वर्षको कुल बजेटमध्ये जेठ मसान्तसम्म ३० दशमलव २० प्रतिशत बजेट खर्च गरेको छ ।