बजेट नीतिले सिमेन्ट उद्योगी उत्साहित
काठमाडौं, २ असार । आ.व. २०७९/०८० को बजेटले स्वदेशी सिमेन्ट/ क्लिङ्कर उत्पादन गर्ने उद्योगहरु संरक्षण तथा सम्वद्र्धन गर्न र देशको व्यापारघाटा कम गर्न निकाशीमा नगद प्रोत्साहन र उद्योगहरुले उपभोग गर्ने विद्युत महशुलमा छुट दिईएको व्यवस्था स्वागत योग्य रहेको नेपाल सिमेन्ट उत्पादक संघले बताएको छ ।
प्रस्तुत बजेटमा निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च सम्भावना भएका वस्तुहरुमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशी उत्पादनमुलक उद्योगहरुको हितमा रहेको बताइएको छ ।
यसबाट देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुनुका साथै यि उद्योगहरु पुर्ण क्षमतामा संचालन भएमा १ सय ५० अर्ब भन्दा बढी रकमको निकाशी गर्ने सम्भावना रहेको संघले बताएको छ । यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमूल्य विदेशी मुद्रा सञ्चिती गर्नमा उल्लेखनीय सहयोग पुग्ने समेत बताएको छ ।
साथै यस बजेटबाट देशको औद्योगीक क्षेत्रको विकास गर्न एंव निर्यात प्रर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी भएको वार्षिक १० करोड भन्दा बढि रकमको विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था समेतको स्वागत गरेको बताइएको छ ।
यस व्यवस्थाबाट देशको औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने विश्वास रहेको छ ।