काठमाडौंको सुरक्षा व्यवस्था जिम्मा संघीय प्रहरीलाई दिनु पर्छ : गृहमन्त्री खाण
काठमाडौं, २१ असार । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा संवेदनशीलता बढी भएका कारण काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनु पर्ने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी बिद्येयकमाथिको छलफलमा मन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती गर्न नभई राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिन लागेको बताए ।
‘सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यो व्यवस्था गरेको हो, प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन,’ उनले भने ।अन्तर्राष्ट्रिय परिदृश्य बदिलिइरहेका र सुरक्षा संवेदनशीलता पनि बढिरहेको भन्दै बैठकमा उनले भने, ‘सुरक्षासँग सम्बन्धित कतिपय नीति निर्णयको गोपनियता पनि राख्नु पर्छ र उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्छ ।’
प्रहरी विद्येयकमा उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीले गर्ने भनिएको छ । उपत्यकाको सुरक्षाको केन्द्रमा राख्ने प्रस्तावमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसद एकमत छन् । तर नेकपा माओवादी केन्द्रका सांसदले भने त्यसमा विरोध जनाएका छन् ।