नेपाली मौलिक गरगहना लगाएर आवत–जावत गर्दा भन्सारमा अवरोध नगर्न सुनचाँदी व्यवसायीको आग्रह
काठमाडौं, २८ असार । नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यकरुपमा कडाई हुने गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले त्यसमा सहजिकरणगर्न भन्सार विभगसँग आग्रह गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डलले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई सँग भेटगरी यस्तो आग्रह गरेको हो ।
महानिर्देशक भट्टराईसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा ५० ग्रामभन्दा बढीको सामान ल्याएमा त्यसको भन्सार लिने गरिएको प्रति असन्तुष्टि जनाउँदै विमानस्थल भन्सारबाट आवत–जावत गर्दा भन्सारमा अवरोधन गर्न नहुनेधारणा राखेका छन् ।
विद्यमान व्यवस्था अनुसार विदेशबाट नेपाल आउँदा प्रत्येक व्यक्तिले ५० ग्रामसम्म सुन भन्सार छुटमा ल्याउने पाउने व्यवस्था छ । तर गरगहनाको हकमा यस्तो सिमा निर्धारण गरिएको छैन । नेपालबाट बाहिर जाँदा गरगहना लगाएर जान पाइने तर बाहिरबाट नेपाल आउँदा ५० ग्राम भन्दा बढी गरगहना लगाएको पाइए त्यसको समते भन्सार लिने गरेको पाइएपछि व्यवसायीहरुले त्यसको विरोध गरेका हुन् ।
भन्सार विभागका महानिर्देशक भट्टराईले व्यवसायीका समस्याको अध्ययनगरी त्यसलाई सम्बोधनगर्न पहल गर्ने बताएका छन् । यद्यपी यसक्रममा कतिपय व्यक्तिले गरगहनाको वाहाना बनाएर सुन नै ल्याउन खोजेको भेटिएपछि कडाई गर्नु परेको उनको भनाई छ ।
भेटकाक्रममा महासंघका तर्फबाट अध्यक्ष शाक्य सहित उपाध्यक्ष पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर बज्राचार्य र कोषाध्यक्ष सुदिप श्रेष्ठ थिए ।