के नेपालमा पनि श्रीलंकाकै पथमा छ ?
काठमाडौं,२९ असार । केही महिनादेखि श्रीलंकाले चरम मानवीय तथा आर्थिक संकट भोगिरहेको छ । श्रीलंकामा हाल इन्धन, औषधि, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको खरिद गर्ने विदेशी मुद्रा नहुँदा यी सामग्रीहरुको समेत चरम अभाव छ । इन्धन आपूर्ति लगभग ठप्प छ । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएका कारण जनजीवन निकै कष्टकर बन्दै गएको छ । श्रीलंकाको यो संकटलाई देखाएर अर्थतन्त्रका जानकार र सरकारी अधिकारीहरुले समेत नेपाल पनि श्रीलंका बन्ने चेतावनी दिने गरेका छन् । श्रीलंकामा हाल देखिएको समस्या प्रमुख कारण विदेशी मुद्राको अभाव नै हो । पछिल्लो समय नेपालमा पनि विदेशी मुद्राको सञ्चिती घट्दै गएको त्यसले गर्दा श्रीलंका बन्ने डर बढेर गएको हो ।
अहिले श्रीलंकामा विदेशी मुद्राको सञ्चिती रित्तिएको छ। तर नेपालमा अहिले पनि ९ अर्ब २८ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति छ। यस्तै श्रीलंकामा मुद्रास्फीतिको दर ७० प्रतिशत नाघेको छ । नेपालमा उपभोक्ता मुद्रास्फीति ७ दशमलव ८७ प्रतिशत छ ।श्रीलंकाको विदेशी ऋणभार ६० अर्ब डलर हाराहारी छ । यो कुल ग्राहस्थ उत्पादनको करिब शतप्रतिशत हो । तर नेपालमा कुल ग्राहस्थ उत्पादनको ४२ प्रतिशत अर्थात १७ खर्ब २८ अर्ब रुपैयाँ ऋण छ ।
श्रीलंकामा कुल ऋण मध्ये २८ अर्ब डलर सन् २०२७ र ७ अर्ब अमेरिकी डलर बराबरको कर्जा २०२२ भित्रै चुक्ता गर्नुपर्ने छ । तर नेपालमा कर्जा चुक्ताको दबाव छैन् । नेपालले विभिन्न दातृ निकायबाट ९ खर्ब ४८ अर्ब वैदेशिक ऋण लिएको छ । यसैगरी देशभित्रबाट सरकारले ७ खर्ब ७९ अर्ब रुपैयाँ ऋण लिएको छ । पछिल्लो ४ वर्षका नेपाल सरकारको कर्जा दोब्बर भए पनि सरकारी राजस्वले साँवा र ब्याज तिर्न समस्या छैन् । अहिले नै मुलुक श्रीलंका नबनेपनि सरकारले संयमता नअपनाउने हो भने संकटलाई कसैले रोक्न नसक्ने पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा बताउनुहुन्छ । उहाँले तत्काल सुधारका प्रयासहरु थाल्न पनि सरकारलाई सुझाव दिनुभयो ।
श्रीलंकाको समस्या एउटै प्रकृतिको होइन । तर नेपालको शासकीय कार्यशैली भने श्रीलंकाको जस्तै भएकाले मनोवैज्ञानिक त्रास बढेको मात्र अर्थशास्त्री डा. दिननाथ दंगाल बताउनुहुन्छ । अहिले नेपालको अर्थतन्त्रमा प्रमुख तीन कारण बढ्दो आयात र महंगी, घट्दो विदेशी विनिमय सञ्चितीका कारण दबाव परेको छ। आयातमा उच्च वृद्धिका कारण विदेशी मुद्राको सञ्चितीमा निरन्तर घटिरहेकाले त्यसमा तत्काल सुधारका प्रयास नथाल्ने हो भने श्रीलंकाकै अवस्था हुनबाट रोक्ने सक्ने उहाँको दाबी छ ।
श्रीलंकामा आर्थिक संकट आउनुमा मुख्य गरी तीन वटा विषयले काम गरेको छ । पहिलो श्रीलंकाली सरकारले अनावश्क रूपमा विदेशी ऋण लिएर पूर्वाधार निर्माण गर्नु, दोस्रो नचाहिँदो रूपमा करका दरमा परिवर्तन गर्नु र पर्यटन व्यवसाय खस्कनु हुन् ।