नेपाली हस्तकला : आफैंमा अद्वितीय
–महेश्वर श्रेष्ठ
नेपाल हजारौं वर्षदेखि हस्तकलामा प्रख्यात छ । प्राचीन मठमन्दिर लगायतलाई हेर्ने हो भने पनि २–३ हजार वर्ष अगाडिदेखि नै हस्तकला, काष्ठकला, धातुकलामा हामी धेरै अगाडि छौं । यस आधारमा हामी जस्तो ऐतिहासिक महत्व बोकेको देश संसारमा निकै कम छ । नेपालको भौगोलिक बनावट र पहुँचका आधारमा पनि धेरै ठूला–ठूला कलकारखानाहरू सञ्चालन गरेर उत्पादन गर्न सहज छैन । यसले गर्दा हामीले हस्तकलाको विकास र विस्तार गर्ने हो भने यसले नै मुलुकको आर्थिक विकास र समृद्धिमा ठूलो टेवा दिन सक्छ । त्यसका लागि हाम्रो पुर्खाले सिकाएका कामहरू मात्र ग¥यौं भने पनि पर्याप्त हुन्छ ।
हामीकहाँ सम्भावनाको कुनै कमी छैन, तर तिनको उपयोग निकै कम छ ।
यो क्षेत्रमा युवापुस्ताको आकर्षण पनि कम हुँदै गएको छ । यसको बेलैमा संरक्षण नगर्ने हो भने यो विस्तारै लोप हुँदै जान सक्छ । यसका लागि सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्छ । हस्तकलाका सामग्री अलिकति महँगो नै हुन्छ । त्यसैले यी सामान अलि धनी देशहरूले मात्र मगाउँछन् । अमेरिका, जापान, क्यानडा लगायतका युरोपेली मुलुकहरूमा नेपाली हस्तकला सामग्रीको माग निकै बढी छ । यसको माग वार्षिक रूपमा बढ्दो क्रममा पनि छ ।
माग धेरै भयो भन्दैमा ह्वारह्वार्ती निर्यात गर्न पनि सकिँदैन । यसमा काम धेरै हुन्छ र लागत पनि बढी नै लाग्छ । यसमा रोजगारीको पनि प्रचुर सम्भावना छ । हामीले १ करोड रुपैयाँको सामान उत्पादन गरियो भने एक सय जनाले रोजगारी पाउँछन् । त्यतिमात्र होइन दिगो र समावेशी आर्थिक विकासका लागि पनि यस्ता उद्योगहरूको ठूलो महत्व छ । लैंगिक विकासका दृष्टिकोणले हेर्ने हो भने हस्तकला उद्योगले महिलालाई धेरै रोजगारी दिएको छ । तर निर्यातको तथ्यांक भने त्यति उत्साहजनक छैन । हाम्रो उत्पादन राम्रो भए पनि अरू देशको तुलनामा धेरै निर्यात गर्न सकिएको छैन । वार्षिक २०–२५ अर्ब रुपैयाँका सामान मात्र निर्यात हुन्छ । यो सम्भावनाका हिसाबले धेरै कम हो । धेरै मेहनत गर्ने हो भने निर्यातको आँकडालाई ३–४ गुणासम्म बढाउन समय लाग्दैन । तर यसका लागि व्यापारी÷व्यवसायीको मात्र पहलले हुँदैन । सरकारको नीतिले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ । संसार एउटा गाउँजस्तो भइसक्यो । खरिदकर्ताले सामान मात्र हेर्दैनन्, धेरै कुरा हेर्छन् ।
चीन, भारत, कम्बोडिया, श्रीलंका, बंगलादेश, थाइल्याण्ड हाम्रा प्रमुख प्रतिस्पर्धी हुन् । उनीहरूको तुलनामा हाम्रो उत्पादनमा नयाँपन आवश्यक छ, तब मात्र खरिदकर्ताले रुचाउँछन् ।
उनीहरूसँग भन्दा क्षमता हामीसँग धेरै छ । फेल्टको उत्पादनमा त हामी पहिलो नम्बरमा छौं । यसको मात्र प्रवद्र्धन गर्न सक्यौं भने हामी धेरै लाभ लिन सक्छौं । संसारमा पैसा भएका मानिस धेरै छन् । एकै दिनमा ५०–६० लाख रुपैयाँ बराबर पनि खर्च गर्नेहरू छन् । हाम्रो सामान धेरैले किनिदिनु पर्दैन । ७–८ अर्ब जनसंख्यामा २०–३० हजारले मात्र किने भने पनि हाम्रो व्यवसाय त कति फस्टाउँछ, अनुमान गरौं न । तर समस्या एउटै छ, हाम्रो सरकारलाई निकासी भनेको के हो, यसको महत्व किन छ र यसलाई बढाउन के–के गर्नुपर्छ भन्ने नै थाहा छैन । उत्पादनका लागि हामीकहाँ जनशक्तिको पनि समस्या छैन । तर जनशक्तिको समस्या निकट भविष्यमा देखिने हो कि भन्ने चिन्ता छ ।
दैनिक १५–१८ सय मानिस विदेशिइरहेका छन् । युवापुस्तामाझ हस्तकला व्यवसायमा आकर्षण नै छैन् । यो समय दिएर गर्नुपर्ने काम भएकाले पनि होला रुचि घट्दै गएको छ । यसबारे पनि सरकार र निजी क्षेत्रले समयमै नसोच्ने हो भने ठूलो समस्या आइपर्न सक्छ ।
हाम्रो हस्तकलाको उपयोग नेपालमा निकै कम छ । यदि हाम्रो उत्पादनलाई माथि उठाउने हो भने यसमा सरकारले उत्पादक र निकासीकर्ताका समस्या के छन् सुन्नुपर्छ र तिनलाई सम्बोधन गर्नुपर्छ । हामीले निकासी गर्ने भनेको सात समुन्द्र पारिका देशलाई हो । त्यो पनि कसलाई भन्दा अमेरिकी, यूरोपेलीहरूलाई, त्यसकारण उनीहरूको रुचि अनुसारका डिजाइन, उत्पादन, बजारीकरण, ब्रान्डिङ, ट्रेडमार्क लगायत हाम्रो बौद्धिक सम्पत्ति संरक्षणमा पनि काम गर्नुपर्छ ।
प्राचीन समयदेखि नै मुलुकको निर्यात व्यापारमा उल्लेख्य हिस्सा ओगट्दै आएको हस्तकलाका सामान विश्वका ४० भन्दा धेरै देशमा निकासी भइरहेको छ । यसले मुलुकमा विदेशी मुद्रा आर्जनमा टेवा पुगेको छ ।
आजको बजार उपभोक्ताको रुचि र मागका आधारमा चल्छ, विक्रेताले उपभोक्ताको रुचि, चासो, बजारमा देखिएको नयाँ प्रवृत्ति (ट्रेन्ड)लाई चिन्न सकेन भने लाभ लिन सक्दैन ।
त्यसले गर्दा बाहिरी संसारले के भन्छ, उनीहरूले कस्तो सामान रुचाउँछन् । त्यो रुचि अनुसार काम गर्नुपर्छ, त्यसले गर्दा केही चुनौती त छ, तर सम्भावना पनि त्यत्तिकै छ ।
आज बंगलादेशलाई हेरौं, ऊ हस्तकलाको क्षेत्रमा हामीभन्दा निकै पछिको गरिब मुलुक थियो । पछिल्लो १०–१२ वर्षमा उसले गार्मेन्ट (तयारी पोशाक) निर्यातमा भारतलाई पछि पारिसक्यो । अबको एक–दुई वर्षभित्रै गार्मेन्ट निर्यातमा बंगलादेश संसारको पहिलो निर्यातकर्ता बन्दै छ । उसले कसरी यसमा सफलता हात पारिरहेको छ, त्यो अध्ययन गरौं ।
कम्बोडिया पनि हस्तकलामा हामीभन्दा धेरै पछिको देश हो । उसले पनि कसरी निर्यात बढायो भनेर उनीहरूबाट हामीले सिक्नुपर्छ । के गर्दा उनीहरूले यो सफलता पाएका छन्, हामीले पनि त्यस अनुसार आफूलाई अघि बढाउनुपर्छ ।
नेपालभन्दा निकै पछि रहेका मुलुकहरूले आज यसरी चामत्कारिक रूपमा निर्यात बढाइरहेका छन् । त्यसलाई हेरेर त्यसै अनुरूपको नीति, नियम ल्याउनु र लगानी गर्नु आवश्यक छ । नेपालको आर्थिक विकास र रोजगारी सृजनामा धेरै टाउको दुखाउनै पदैैन । नेपालको अनुपम संस्कृति र पहिचान बोकेको हस्तकलाले नै मुलुकलाई धेरै माथि पु¥याउँछ ।
(श्रेष्ठ एभरेष्ट फेशनका प्रबन्ध निर्देशक हुन्)