उपत्यकाको फोहर भोलिदेखि पुनः व्यवस्थापन हुने
काठमाडौं, १२ साउन । एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलि (बिहीवार)देखि पुनःव्यवस्थापन हुने भएको छ ।
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न सकेको थिएन । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो ।
बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको छ ।
कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आआफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ ।