कर्मचारीको तलब १५ देखि २४ प्रतिशतसम्म वृद्धि
काठमाडौं, २४ साउन । सरकारले मर्यादा मिलाउन भन्दै कर्मचारीको तलब १५ देखि २४ प्रतिशतसम्म वृद्धि गर्ने प्रस्ताव गरेको छ । तर बजेटले सबै तहका सरकारी कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियो ।
असमान तरिकाले तबल बढाउने निर्णयको नायब सुब्बाले विरोध गरेका छन् । जानकारहरुले पनि बजेटले घोषणा गरेभन्दा बढी तलब बढाउनु गलत भएको टिप्पणी गरेका छन् ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत साउन १ गतेदेखि लागू हुनेगरी सबै तहका कर्मचारीको तलबमान १५ प्रतिशतले वृद्धि गरेको छ । तर बजेटले गरेको व्यवस्थाविपरीत मर्यादाक्रम मिलाउने नाममा सरकारले २४ प्रतिशतसम्म तलव वृद्धिको प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्तावित तलबमानमा शाखा अधिकृतको सबैभन्दा धेरै २४ दशमलव २६ प्रतिशत वृद्धि गरिएको छ।
उपसचिवको २३ दशमलव ३५, सहसचिवको २३ दशलमव ६३ र सचिवको १८ दशलमव ४१ प्रतिशतले तलववृद्धिको प्रस्ताव गरिएको छ। जबकी बजेटले सबै तहका कर्मचारीहरुलाई खाइपाइ आएकोमा १५ प्रतिशत मात्र बढाउने निर्णय गरेको थियो । अर्थमन्त्रालयका अधिकारीले समान पदका अधिकारीलाई समान तलबमान हुने गरी प्रस्ताव मन्त्रिपरिषद् पठाएको जनाएका छन् ।
शाखा अधिकृतभन्दा तल्लो तहका कर्मचारीको हकमा भने बजेटमा घोषणा गरे अनुसार मात्रै तलव वृद्धि भएको छ । अर्थको प्रस्ताव पारित भएमा अब शाखा अधिकृतले ४७ हजार २०८ रुपैयाँ, उपसचिवले ५२ हजार २७९ रुपैयाँ, सहसचिवले ६१ हजार ५० रुपैयाँ र सचिवले ७४ हजार २२१ रुपैयाँ तलब पाउने छन् ।