नक्कली बिल बनाएर नक्कली गरगहना बिक्रीगर्ने गिरोह सक्रिय
काठमाडौं, २५ साउन । नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ ।
उनीहरुले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेको समेत पाइएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहन काजी शाक्यले बताएका छन् । उनका अनुसार यस्तो गिरोहले नक्कली पसल खडागरी त्यसैको नाममा बिल समेत बनाएर नक्कली गरगहनालाई सक्कली भन्दै बिक्री वितरण गर्ने गरेको पाइएको हो ।
यसै सिलसिलामा ललितपुर सुनचाँदी व्यवसायी संघको एक प्रतिनिधीमण्डलले बुधबार महासंघमा यस विषयमा जानकारी गराउँदै यस्ता गविविधिबाट सतर्क रहन सम्पूर्ण सुनचाँदी व्यवसायी तथा उपभोक्तालाई जानकारी गराउन आग्रह गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले अवैध धन्दामा सक्रिय गिरोहको बारेमा महासंघमा जानकारी आएको बताउँदै यस्तो गिरोहबाट जोगिन आम व्यवसायी तथा उपभोक्ताहरुलाई आग्रह गरेका छन् ।
पछिल्लो समय यसरी नक्कली बिल लगायतका कागजात बनाई नक्कली सुनको कारोबार गर्ने गिरोह सक्रिय छ । यस्तो गिरोहले ललिपुर सुनचाँदी व्यवसायी संघको सदस्य रहेको भन्दै वनेपा लगायतका स्थानमा नक्कली गरगहना बिक्री गर्दै हिँडेको पाइएको छ ।