Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

असारसम्ममा सबै स्थानिय तहहरुमा शाखा विस्तार असम्भव

असारसम्ममा सबै स्थानिय तहहरुमा शाखा विस्तार असम्भव

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकले निर्देशन गरे अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा सबै स्थानिय तहहरुमा वाणिज्य बैंकहरुले शाखा विस्तार गर्न नसकिने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताएका छन् । ‘असारसम्ममा वाणिज्य बैंकहरुले तोकिएको स्थानिय तहहरुमा शाखा विस्तार गर्न सक्ने अवस्था छैन,’ उनले भने ।

मुलुकले संघिय संरचना अवलम्वन गरेसंगै ७५३ वटा स्थानिय तहहरु छुट्टाइएको छ । वित्तीय पहुँच अभिवृद्धि गर्न राष्ट्र बैंकले ७५३ वटै स्थानिय तहहरुमा शाखा विस्तार गर्न वाणिज्य बैंकहरुलाई निर्देशन गरेको छ । यता चैत्र मसान्तसम्ममा ७५३ वटा स्थानिय तहहरु मध्ये ४२४ स्थानिय तहहरुमा वाणिज्य बैंकहरुले आफ्नो उपस्थिती जनाइसकेका छन् । यस्तै बाँकी रहेका ३२९ स्थानिय तहहरुमा वाणिज्य बैंकहरुले वैशाख महिनामा केहि स्थानिय तहहरुमा आफ्नो शाखा विस्तार गरिसकेका छन् ।

भुवन दाहालका अनुसार अहिले वाणिज्य बैंकहरुलाई शाखा विस्तार गर्न केहि स्थानिय तहहरुमा समस्या परेको छ । ‘भौगोलिक कठिनाईका कारण हामीलाई समय सिमा भित्र शाखा विस्तार गर्न समस्या आएको छ,’ उनले भने, ‘यसका साथै प्रविधिको विकास नपुगेको स्थानिय तहहरुमा पनि शाखा विस्तार गर्न सकिने अवस्था छैन ।’

नयाँ शाखा विस्तारसंगै वित्तीय प्रणालीमा रोजगारीको अवसर समेत जुटेको छ । तर वित्तीय प्रणालीमा आवश्यक दक्ष जनशक्तिको अभाव रहेको दाहालले बताएका छन् । ‘शाखा विस्तारसंगै रोजगारीको अवसर आएको छ, तर दक्ष जनशक्ति भने पाउन गाह्रो छ,’ उनले भने । दक्ष जनशक्तिको अभावका कारण वित्तीय प्रणालीमा संचालनको जोखिम बढ्ने सम्भावना रहेको उनले बताएका छन् । ‘नयाँ तथा अनुभव नभएका जनशक्तिको प्रवेशले वित्तीय प्रणालीमा संचालन जोखिम बढ्ने सम्भावना रहेको छ,’ उनले भने, ‘यता अनुभव भएकाहरुमा पनि प्रष्टसंगको अनुभव नभएको कारण केहि वर्ष संचालन जोखिमको अवस्था आउँछ ।’

रोजगारी बढ्न गएसंगै बैंकहरुको संचालन खर्च समेतमा वृद्धि हुने देखिएको छ । यता संचालन खर्चको वृद्धिले बैंकहरुको मुनाफामा असर गर्ने हुन्छ । तर संचालन खर्चको उचित व्यवस्थापनको लागि बैंकहरुले आफ्नो कारोबार तथा सेवालाई सहज र सरल बनाउन आवश्यक रहेको छ । शाखा विस्तारले वित्तीय प्रणालीमा आउन नसकेको ग्रामिण क्षेत्रको निक्षेपलाई आकर्षण गर्न सकिन्छ । सरकारले जारी गरेको श्वेतपत्र अनुसार हाल कुल जनसंख्याको ४० प्रतिशत जनसंख्या मात्र वित्तीय पहुँचमा रहेका छन् । अझै बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको पहुँचमा ५ प्रतिशत जनसंख्याको मात्र सहभागिता रहेको छ । यता सम्पुर्ण स्थानिय तहहरुमा शाखा विस्तारले वित्तीय पहुँच अभिवृद्धि गर्न सकिने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x