एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारण सभा सम्पन्न, ५५ प्रतिशत नगद लाभांश पारित
काठमाडौं, ८ भदौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज भदौ ८ गते क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको छ ।
सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु.११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आ.व. २०७८/७९ मा रु.१२ करोड ८ लाख खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.६०.३९ कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराएका थिए ।
उनले क्यापिटल स्थापना भएको ५ वर्ष ४ महिनाको छोटो अवधिमै हाल संचालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना सञ्चालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ५ सय ७३ जना ग्राहकहरुबाट रु.१ अर्ब ६७ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराएका थिए ।
साथै क्यापिटलले संचालनमा आएको ५ वर्ष ४ महिनाको अवधिमै आफ्नो शेयरधनीलाई १ सय ४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गराए ।
अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।
क्यापिटलले काठमाडांै उपत्यका भित्र किर्तिपुर, चाबहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ । साथै निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति लिएको बताइएको छ ।