नेपाल पूर्वाधार सम्मेलन भोलिदेखि, आर्थिक पुनरुत्थान र हरित पूर्वाधारमा लगानी प्रवर्द्धनमा केन्द्रित हुने
काठमाडौं, २२ भदौ । नेपाल पूर्वाधार सम्मेलन भोलि (बिहीवार)देखि शुरू हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण बिहीवारदेखि काठमाडौंमा हुने भएको छ । सम्मेलनमा लगानी बोर्ड नेपाल सहआयोजक रहेको छ ।
सम्मेलनमा यातायात, ऊर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइ, जलवायु, उत्थानशील पूर्वाधार परियोजना लगायत विषयमामा बृहत् छलफल हुने बताइएको छ । यसपटकको सम्मेलनको थिम ‘विकासका लागि पूर्वाधार’ रहेको छ ।
पूर्वाधार सम्मेलनले आर्थिक पुनरुत्थान र हरित पूर्वाधारमा लगानी प्रवद्र्धन हुने आयोजकको विश्वास छ । साथै सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजीक्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायत विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने अपेक्षा परिसंघले गरेको छ ।
‘पूर्वाधारका लागि लगानी प्रवद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायत विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार र निजीक्षेत्रका प्रतिनिधिबीच सम्मेलनमा गहन रूपमा छलफल हुनेछ,’ परिसंघद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनका विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, महानगरपालिकाका मेयरहरू, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, प्राध्यापकहरूका प्रस्तुति रहनेछन् । मन्त्रालय र परिसंघ आयोजक रहेको सम्मेलनको सहआयोजकमा लगानी बोर्ड नेपाल र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन् ।