निर्वाचनमा भाग लिन दर्ता भएका ८६ दलमध्ये ५७ मात्र प्रत्यक्षमा
काठमाडौं, २६ असोज । आगामी मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले बताएको छ । प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको संख्या फरक छ । प्रदेश एकमा ३०, मधेशमा ३७, बागमतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलले प्रदेशसभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।
आयोगमा दर्ता भएका दलको संख्या भने एक सय १६ रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दर्ता भएका सबै दलले आगामी निर्वाचनमा भाग नलिने पनि उनले बताए । २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ५५ दलले भाग लिएका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा हुनेले मतदान गर्न पाउनेछन् । त्यसका लागि मतदातासँग परिचयपत्र हुन आवश्यक छ । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा हुने समेत एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जनाले मतदान गर्न पाउने आयोगले बताएको छ । जसमा ९१ लाख ४० हजार आठ सय ६ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य मतदाता रहेका छन् । रासस