Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

काठमाडौं, ११ कात्तिक । विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आज शुक्रबारदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ । यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो। निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ।

यस दिन एक छाक मात्र खाइन्छ । व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई) को पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ । छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ ।

यो पर्व तराई मधेशसहित पछिल्लो दशकदेखि काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ ।

परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ । त्रेतायुगमा रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ । त्यस्तै द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ । कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्वको व्रतलाई समापन गरिन्छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको छ। यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ। त्यसैले यसलाई लोकपर्व भनिएको मैथिल संस्कृतिविद् बताउँछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x