कोभिडअघिकै अवस्थामा फर्कियो वैदेशिक रोजगार
मानमती पाण्डेय
काठमाडौं, ९ मंसिर । कोरोना महामारीका कारण करिव दुई वर्षदेखि शिथिल बनेको वैदेशिक रोजगारले पुरानै लय समातेको छ । कोरोनाको प्रभाव एकदमै न्यून हुन थालेपछि वैदेशिक रोजगार पुरानै लयमा फर्किएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
कोभिडअघि आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा ८९ हजार ८ सय ८३ जनाले श्रमस्वीकृति लिएकोमा चालु आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १ लाख ८४ हजार ४ सय ५६ जनाले श्रम स्वीकृति लिएका छन्, जुन ५१.२८ प्रतिशतले बढी हो ।
अहिले पुनः श्रम स्वीकृति दिन सरकारको जनशक्ति र प्रणालीको क्षमताले नभ्याएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आर्चायले बताए । उनले भने ‘पहिले आवेदन दिएको कम्तीमा पनि ३ दिनभित्र श्रम स्वीकृति दिन सक्ने अवस्था थियो भने अहिले ७ दिन पछाडि मात्र दिन सकिन्छ । यद्यपि कसैलाई अप्ठ्यारो परेको अवस्थामा खण्डमा भने हामीले उनीहरुको समस्या सम्बोधन गर्न विशेष व्यवस्था गरेका छौंं ।’ श्रम स्वीकृतिका लागि आवेदन दिनेको संख्या मंसिरदेखि झनै बढ्ने उनले बताए ।
वैदेशिक रोजगार विभागका अघिल्लो वर्ष ४४ हजार ३४ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्षको ७ महिना अवधिमा ४ लाख २७ हजार २ सय ३८ जनाले श्रम स्वीकृति लिएका छन् । शिक्षा, व्यापार, व्यवसाय आदि कारणले विदेश जानेहरू, सरकारी सम्पर्कमा नआई विदेश जाने कामदार तथा भारतमा रोजगारीका लागि गएका नेपालीको समेत हिसाब गर्दाे संख्या निकै धेरै हुन्छ ।
कात्तिक महिनामा मात्रै ७८ हजार ३ सय ७० जनाले श्रम स्विकृति लिएका छन् । जुन असोजको तुलनामा करिब दोब्बर हो । असोजमा ४४ हजार ३४ जनाले श्रम स्वीकृति लिएका थिए ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक समेत पुनः वैदेशिक रोजगारीमा जान थालेको विभागका महानिर्देशक आचार्यले बताए ।
यसरी श्रमस्वीकृति लिनेको संख्या बढेसँगै रेमिट्यान्स (विप्रेषण) पनि बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ खर्ब ३९ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो भने चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ खर्ब ८१ अर्ब ५ करोड भित्रिएको छ, जुन १६.८ प्रतिशतले बढी हो ।
कोभिडअघि नेपालबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा वर्षेनि ५ लाख श्रमिक जाने गरेको सरकारी तथ्यांक छ ।
मुलुकको अर्थतन्त्रका लागि रेमिट्यान्सको ठूलो भरथेग रहँदै आएको छ । रेमिट्यान्स अर्थतन्त्रलाई दिगो राख्ने नभए पनि अहिलेको तत्कालीन अवस्थामा भने यसको महत्वपूर्ण भूमिका देखिन्छ ।
नेपाल सरकारले हालसम्म विश्वका १११ मुलुक रोजगारीका लागि खुला गरे पनि श्रम सम्झौता भने १० वटा मुलुकसँग मात्रै भएको छ । ‘हामीले रोजगारीका लागि बढी माग आउने मुलुकसँग मात्र श्रम सम्झौता गरेका हौं, श्रम सम्झौता गर्न माग त्यही किसिमको आउनुप¥यो । केही सीमित डिमान्ड अहिले यूरोपियन मुलुकबाट आउने गरेका छन्,’ उनले भने, ‘केही देशसँग छिट्टै श्रम सम्झौता गर्ने प्रक्रियामा छौं । यसमा वार्ता र समझदारी भइरहेको छ । अझै थप देशहरूसँग गर्दै छौं । सरकारको नीति अनुसार हामीले राम्रा गन्तव्य खोज्ने, आकर्षक रोजगारी दिन सक्ने सुरक्षित र व्यवस्थित गन्तव्यहरू पहिचान गरिरहेका छौंं ।’
यस्तै श्रम स्वीकृतिलाई मर्यादित र व्यवस्थित बनाउने काम विभागले गरीरहेको उनले बताए । ‘मेनपावर व्यवसायी माथि पनि हामीले नियमन र अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘अर्को कुरा हामीले फेमिस (फरेन इम्प्लोइमेन्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) लागू गरेका छौं । यसले सबै झन्झटिलो प्रक्रिया अनलाइन बाट होस् र श्रमिकहरु भौतिक रूपमा ताहचल, मन्त्रालय र विभाग धाउन नपरोस् भन्ने उदेश्यले यो सिस्टम लागू गरेका हौं ।’