आयात प्रतिबन्ध खुल्दैमा विदेशी विनिमय सञ्चिति एवं भुक्तानी सन्तुलन प्रभावित नहुने
मानमती पाण्डेय
काठमाडौं, २ पुस । चालु आर्र्थिक वर्षको पहिलोे तीन महिनामा मुलुकको प्रमुख वित्तिय सूचकहरु सकारात्मक बन्दै गएका छन् । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक प्रतिवेदन अनुसार विप्रषण आप्रवाह तथा विदेशी विनिमय सञ्चिति बढेको छ भने शोधनान्तर स्थिति समेत बचमा गएको छ ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौमा १ खर्ब ८७ अर्ब ४ करोड रहेको विप्रेषण आप्रवाह असोजमा २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यस्तै कात्तिकसम्म आइपुग्दा यो ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
यस्तै गत भदौमा ११ खर्ब ८९ अर्ब १६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति असोज मसान्तसम्म आउँद १२ खर्ब ४६ अर्ब २२ करोड पुगेकोे थियो । यस्तै कात्तिकमा यो बढेर १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँमा पुगेको केन्द्रीय बैंकको तथ्यांक छ । विदेशी विनिमय सञ्चितिमा भएको वृद्धिले वस्तु तथा सेवा आयात धान्न सक्ने समय समेत बढेको छ । कात्तिक महिनासम्ममा भएको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
यस्तै शोधनान्तर स्थिति समेत पछिल्लो १४ महिनापछि गत असोजमा पहिलोपटक बचतमा रहेको थियो । भदौमा २३ अर्ब ६८ करोडले घाटामा रहेका शोधनान्तर स्थिति असोजम १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो भने कात्तिकमा बढेर यो २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको कात्तिकमा यो १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो ।
यसरी नेपालको विदेशी विनिमय सञ्चिति बढ्नु र शोधनान्तर स्थिति समेत बचतमा रहनुमा प्रमुख कारण सरकारले कतिपय वस्तुमा लगाएको आयात प्रतिबन्ध समेत प्रमुख कारणको रूपमा रहेको छ । विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै सरकारले गत वर्ष शुरूमा १० वटा वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । पछिल्ला महिनाहरूमा उक्त प्रतिबन्ध खुकुलो बनाउँदै आएकोमा चार वटा वस्तुको आयात भने गत मंसिर मसान्तसम्म नै कायम थियो । राजस्वमा प्रमुख योगदान दिने वस्तुमा पर्ने मोटरसाइकल, डिजेल कार, मदिरा र मोबाइलमा लगाइएको प्रतिबन्ध सरकारले यही पुसदेखि लागू हुने गरी हटाएको छ । राजस्व संकलन प्रभावित भएको र व्यवसायीको समेत दबाब बढ्दै गएपछि सरकारले उक्त प्रतिबन्ध हटाएको हो ।
आयात प्रतिबन्ध हटेसँगै पुनः विदेशी विनिमय सञ्चितिमा दबाब बढ्ने विश्लेषण गर्न थालिएको छ । यद्यपि विज्ञहरू भने प्रतिबन्ध खोल्दैमा यसमा ठूलो असर नपर्ने तर्क गर्छन् ।
प्रतिबन्ध खुला गरिए पनि आयातका लागि बैंकहरूले कर्जा प्रवाह गर्नुपर्ने भएकाले अहिलेको तरलता संकटको अवस्थाका कारण ठूलो परिमाणमा आयात नहुने पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन् । ‘यदि कर्जा प्रवाह खुकुलो भएन भने आयात फुकुवाले मात्र विदेशी विनिमय सञ्चिति तथा भुक्तानी सन्तुलनमा खासै असर पर्दैन,’ उनले ।
यस्तै अर्का अर्थविद् चन्द्रमणि अधिकारी शोधनान्तर स्थिति बचतमा जानु र विदेशी विनिमय सञ्चिति बढ्नुमा आयात प्रतिबन्ध मात्र नभई वैदेशिक अनुदान र रेमिट्यान्समा भएको वृद्धि मुख्य कारण रहेको बताउँछन् । ‘रेमिट्यान्स र केही वैदेशिक सहायता बढेको छ, तिनै कारणले प्रमुख सूचक सकारात्मक देखिएका हुन्,’ उनले भने, ‘आयात प्रतिबन्ध फुकुवा भए पनि यसमा धेरै प्रभाव पर्ने देखिँदैन ।’ यद्यपि प्रतिबन्ध हटेपछि व्यापारीहरूले आयात गर्न खोज्ने हुँदा केही मुद्रा बाहिरिने र थोरै प्रभाव पर्न सक्ने उनको बुझाइ छ ।