नेपाल बैंकको ५२ हजार १९० कित्ता शेयर कारोबार
काठमाडौं, १३ जेठ । एफपिओ निष्कासन गर्ने भए पछि नेपाल बैंक लिमिटेडको आइतबार ५२ हजार १९० कित्ता शेयरको किनबेच भएको छ । यस्तै बैंकको आज शेयर मुल्य ३३६ रुपैयाँबाट घटेर ३२५ रुपैयाँमा कारोबार भएको छ ।
बैंकले प्रति शेयरको अंकित मुल्य एक सय रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर २८० रुपैयाँमा बिक्री गर्ने जनाएको छ । बैंकले १ करोड ७६ लाख ८४ हजार ८७८ कित्ता थप शेयर निष्कासन गर्ने भएको छ । बैंकले थप शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ र बोर्डको स्विकृती पश्चात बिक्री खुल्लाको मिती तय गरिने जनाएको छ । थप शेयर निष्कासनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल बैंक लिमिटेडको ५८औं वार्षिक साधारण सभाले थप शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको थियो । थप शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यस्तै थप शेयर निष्कासन पछि बैंकमा रहेको सरकारी स्वमित्व ६२ प्रतिशतबाट ५१ प्रतिशतमा सिमित रहनेछ ।