तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह

काठमाडौं, २३ पुस । तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा एमाले सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो । चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातापानी नाका २०७२ सालको भूकम्पपछि पटकपटक बन्द हुँदै आएको छ ।
शुक्रबार एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अर्थमन्त्रालय पुगेका पोलिटब्यूरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाललगायतले अर्थमन्त्रीलाई तातोपानी नाका खुलाउन आग्रह गरेका हुन् ।
उनीहरूले अरनिको राजमार्गको जुरे–कोदारी खण्डको सडक र पुल पुनःनिर्माणको आवश्यक अध्ययनसहितको बजेटसमेत माग गरे ।