शेयर बजार २२०० बिन्दुमाथि, ५ अर्ब ३१ करोडको कारोबार
काठमाडौं, २५ पुस । शेयर बजारले साढे चार महिनापछि २२०० विन्दु पार गरेको छ । नयाँ सरकार गठनयता बढ्दै गएको नेप्से परिसूचक सोमवार ४६.७६ अंकले बढेर २२११.३८ अंकमा पुगेको छ ।
यस दिन कारोबार रकमसमेत अघिल्ला दिनहरूको तुलनामा सर्वाधिक भएको छ । यस दिन २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन होटल एन्ड टुरिजम बाहेक सबै समूहको उपसूचक बढेका छन् । सर्वाधिक मूल्य बढेको समूह जलविद्युत् रहेको छ, जसको उपसूचक करिब ५ प्रतिशतले बढेको छ ।