नेपाली जनताले असाधारण सङ्कल्पको अपेक्षा गरेका छन् : प्रधानमन्त्री दाहाल
काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेको बताएका छन् । ‘यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो । परम्परागत अभ्यास र राजनीतिले मात्रै जनतामा जानसक्ने अवस्थामा छैनौँ । हामीले बिर्सनु हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौँ”, प्रधानमन्त्री दाहालले भने, ‘मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्ने छौ । हामी साझा राजनीतिक लक्ष्यका साथ एक ठाउँमा उभिनेछौँ ।’
प्रतिनिधिसभाको पहिलो बैठकलाई आज लिखित सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताका अपेक्षा, गुनासा चासो र चिन्तालाई नजिकबाट देखेकाले समस्या केलाएर बस्ने छुट नभएको बताए । उनले, ‘हामीलाई समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्नेछ । समाधानतर्फ अगाडि बढ्नुपर्नेछ ।’
प्रतिनिधिसभामा लैङ्गिक, जातीय, धार्मिक, क्षेत्रीय प्रतिनिधित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसले राष्ट्रको सच्चा प्रतिनिधित्व गरेको बताए ।
प्रधानमन्त्री दाहालले फरकफरक राजनीतिक पृष्ठभूमिबाट आएको भए पनि जनतासँग गरेको सुशासन र समृद्धिको प्रतिबद्धता भने साझा रहेको उल्लेख गरे ।
यसपटक प्रतिनिधिसभामा नयाँ दलको प्रवेश भएको स्पष्ट पार्दै उनले भने, ‘संसद्मा नयाँ अनुहार थपिनुभएको छ । बिना कुनै इष्र्या म मनैदेखि भन्न चाहन्छु, तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जीत हो । तपाईंहरुमा पक्कै एउटा आवेग र केही गरी छाड्ने हुटहुटी छ । त्यो हुटहुटी नयाँ संसद्को पुँजी हो ।’