आगामी २ वर्षभित्रमा सबै वडाहरुमा स्वास्थ संस्था
स्वास्थ्य सेवालाई सर्वसुलभ भरपर्दो र गुणस्तरीय बनाउन, आधारभूत स्वास्थ्यमा सबै नागरिकको पहुच सुनिश्चित गर्न स्वास्थ्य बीमाको कार्यक्रम मुलुकभर बिस्तार गर्ने सरकारको योजना सरकारले ल्याएको छ । आगामी बर्षको बजेटमा गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेका लागि यातायात खर्च दोब्बर बनाइएको छ । स्थानीय तहबाट संचालन हुने बहुउद्देश्यीय पोषण कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । आगामी २ वर्षभित्रमा सबै वडाहरुमा न्युनतम एक स्वास्थ संस्था स्थापना गर्ने सरकारको योजना छ । पहिलो चरणमा मुलुक भरिका १२ सय वडाहरुमा यस्ता संस्था निर्माण गरिने छ । सरकारले निशुल्क उपलव्ध गराउने सबै औषधी सबै स्वास्थ्य संस्थामा निरन्तरता दिने पनि जनाएको छ ।
वीर अस्पतालको गुरुयोजना अनुरुपको निर्माण कार्य सुरु गरिने छ । १ सय शैया भन्दा बढी क्षमताका अस्पतालमा विस्तारित स्वास्थ सेवा संचालन अनिवार्य गरिने बजेटमा व्यवस्था छ । सबै स्थानीय तहमा कम्तिमा एक चिकित्सकको सेवा सुनिश्चितता गर्ने अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख छ ।
ध्यान र योगको माध्यमबाट स्वस्थ रहन नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिने छ । सबै सार्वजनिक स्थल र सवारी साधनमा धुमपान र मदिरा निषेध गरिने छ । महामारी रोग नियन्त्रण र निवारण कार्यलाई प्रभावकारी बनाउन विशेषज्ञ सहितको द्रुत टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।