मेन्छियाम हाइड्रोपावरको आइपिओ खुल्यो बिक्री खुला, क-कसले दिने आवेदन?
काठमाडाैं, १० फागुन । आज (बुधबार) देखि मेन्छियाम हाइड्रोपावरको आइपिओ बिक्री खुला भएको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कम्पनीले आइपिओ निष्कासन गरेको हो।
कम्पनीले ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ।
सो मध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता सेयर सो बाहेकका क्षत्रमा रहेका संखुवासभा जिल्लाका बासिन्दाहरूको लागि वितरण गर्न लागेको कम्पनीले बताएको छ।
यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको सेयरको १० प्रतिशत अथौत् १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता आइपिओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि लागि निष्कासन गरेको हो।
दुवै समूहका लगानीकर्ताले न्यूनतममा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
उक्त आइपिओमा फागुन २५ गतेसम्म आवेदन दिन सकिन्छ। सो अवधिसम्म आइपिओमा पूर्ण आवेदन नपरेमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन्।