Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

युवा तथा साना व्यवसायी स्वरोजगार कोष १५ औं वर्षमा प्रवेश

युवा तथा साना व्यवसायी स्वरोजगार कोष १५ औं वर्षमा प्रवेश

काठमाडाैं, २० फागुन । युवा तथा साना व्यवसायी स्वरोजगार कोष स्थापनको १५ वर्षमा प्रवेश गरेको छ । शुक्रबार कोषले भक्तपुरकाे सहयाेगी बचत तथा सेवा केन्द्र सहकारीकाे हलमा एक कार्यक्रमको आयोजना गरि १४ औं स्थापना दिवस मनाएको हाे ।

कार्यक्रमको राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले उद्घाटन गरे । उनले वेरोजगार यूवाहरुलाई स्वरोजगार बनाउन कोषको भूमिका महत्वपूर्ण रहेको बताए । उनले कोषलाई अझ प्रभावकारी हुनेगरि ऐन निर्माण गरि अगाडी बढ्न आवश्यक रहेको औंल्याए । उनले धेरैभन्दा धेरै यूवा तथा साना व्यवसायीलाई स्वरोजगार हुने कार्यक्रमहरु अगाडी बढाउन आग्रह गरे ।

यूवा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले कोषले स्थापनाको १४ वर्ष पुरा गर्दा प्राप्त सफलताको प्रंशसा गर्दै कोषबाट प्राप्त कर्जालाई सहि ठाउँमा सदुपयोग गर्न सेवाग्राहीलाई आग्रह गरे ।

यस्तै कार्यक्रममा कोषका उपाध्यक्ष डा. देवराज रोका ‘कल्याण’ले कोषले विशेषगरि आर्थिक रुपमा विपन्न १८ वर्ष देखि ६० वर्ष उमेर समूहका वेरोजगार, यूवा तथा साना व्यवसायीलाई बिना धितो स्वरोजगार कर्जा, सहुलियत व्याजदरमा कर्जा लगानी, सुलभ व्याजदरमा व्यवसायिक कर्जा, कोषले व्यवसायी तथा व्यवसायी परियोजनाको निःशूल्क बीमा तथा असल कर्जाग्राहीको ब्याजमा ६० प्रतिशत अनुदान लगायतका सेवाहरु दिँदै आएको जानकारी दिए ।

सो अवसरमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले कोषको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । कोषले हालसम्म ९५ हजार १६१ जनाको संख्यामा स्वरोजगार सिर्जना गरेको जानकारी दिए । नेपाल सरकारद्वारा तत्कालिन अर्थमन्त्रालय अन्र्तगत रहनेगरि २०६५ फागुन १९ गतेबाट औपचारिक शूरुवात भएको कोष अहिले यूवा तथा खेलकुद मन्त्रालय अन्र्तगत सञ्चालनमा रहेको बताउँदै उनले हालसम्म कोषमार्फत लक्षित वर्गलाई १२ अर्व ९३ करोड ११ लाख ८५ हजार रुपैयाँ लगानी गरिसकेको बताए ।

कोषले स्थापनाको १४ वर्षको अवधीमा ४२ हजार बढी यूवा तथा साना व्यवासायीलाई अभिमुखिकरण तालिम, करिव साढे ८ हजार जनालाई सिपमुलक तालिम, विभिन्न संस्थाका ६ हजार जनालाई अनुशिक्षण तालिम प्रदान गरेको विवरण प्रस्तुत गरेका थिए ।

यस्तै उक्त कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २५ जना यूवाहरुलाई स्वरोजगार कर्जा वितरण गरेको छ । सेरामिक्स, कफी सप, बेकरी, तरकारी उत्पादन तथा अन्य व्यवसायका लागि २५ जनालाई दुई लाख रुपैयाँका दरले कर्जा वितरण गरिएको हाे । यूवाहरुलाई राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, कोषका उपाध्यक्ष डा. देवराज रोका ‘कल्याण’ र कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले संयूक्तरुपमा हस्तान्त्रण गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x