Date

बिहि, भदौ १२, २०८२
Thu, August 28, 2025

बैंक नाफा परीक्षणमा कडाइ : राष्ट्र बैंकको नयाँ नियम लागू

बैंक नाफा परीक्षणमा कडाइ : राष्ट्र बैंकको नयाँ नियम लागू

काठमाडाैं, १२ भदाैं । पछिल्ला वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले लेखापरीक्षण अघि प्रस्तुत गर्ने नाफा र लेखापरीक्षणपछि स्वीकृत हुने नाफाबीच ठूलो अन्तर देखिँदै आएको भन्दै नेपाल राष्ट्र बैंकले नयाँ नियम लागू गरेको छ ।

नयाँ कार्यविधि अनुसार अब बैंकहरुले प्रस्तुत गर्ने वित्तीय विवरणलाई कडाइका साथ परीक्षण गरिनेछ । विशेष गरी कर्जा नोक्सानी प्रावधान राष्ट्र बैंकको निर्देशनभन्दा कम देखिएमा त्यस बराबर रकम नियामकीय जगेडा कोषमा राख्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, ग्रेस अवधिको पूँजीकृत ब्याजलाई पनि अलग्गै जगेडा कोषमा छुट्याउनुपर्नेछ ।

यससँगै एनएफआरएस–९ अन्तर्गतको एक्स्पेक्टेड क्रेडिट लस गाइडलाइन र २०२५ को इन्ट्रेस्ट रिकग्नेसन नोट अनुसार अपनाइएको लेखानीति, अनुमान र विवरणलाई वित्तीय विवरणकै टिप्पणीमा स्पष्ट रूपमा खुलाउनुपर्ने अनिवार्य गरिएको छ ।

डिबेञ्चर तथा अन्य ऋणपत्र जारी गर्ने संस्थाले क्यापिटल रिडेम्सन रिजर्भमा रकम राखेको छ वा छैन भन्ने विषयमा समेत परीक्षण हुने भएको छ । साथै अविमोच्य अग्राधिकार सेयरको लाभांश अब चालु वर्षकै नाफाबाट मात्र वितरण गर्न पाइने र संचित मुनाफा वा अन्य कोष प्रयोग गर्न नपाइने व्यवस्था थपिएको छ ।

कर्मचारी दायित्वको मूल्यांकन गर्दा विगतको तथ्यांकमा आधारित यथार्थपरक अनुमान प्रयोग भएको छ वा छैन भन्ने कुरा पनि अनिवार्यरूपमा परीक्षण गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको यो निर्णयले लगानीकर्तामाझ पारदर्शिता बढाउने र वित्तीय क्षेत्रलाई थप विश्वासिलो बनाउने अपेक्षा गरिएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *