नागढुङ्गा सुरुङमार्ग सञ्चालन नजिक, टोल संकलनमा आधुनिक प्रविधि

काठमाडाैं, १२ भदाैं । सडक विभाग अन्तर्गत निर्माण भइरहेको नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा सुरुङमार्ग अन्तिम चरणमा पुगेको छ । विभागका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ९४.५ प्रतिशत पुगेको छ र सम्पूर्ण निर्माण कार्य असोज भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निकट भविष्यमै सञ्चालनमा ल्याउन तयारी भइरहेको यो सुरुङमार्गबाट गुड्ने सवारी साधनबाट उपभोग दस्तुर सङ्कलन गरी आगामी दिनमा मर्मत, सम्भार तथा संचालनका लागि दिगो स्रोत सुनिश्चित गर्ने उद्देश्य राखिएको छ । यसैअनुरूप गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उपभोग दस्तुर स्वीकृत गरिसकेको छ ।
दस्तुर संकलनका लागि आयोजना मार्फत अत्याधुनिक आरएफआइडी (RFID) आधारित टोल संकलन प्रणाली लागू गर्ने तयारी भएको छ । यस अन्तर्गत बैंक खातासँग आवद्ध आरएफआइडी ट्याग सवारी साधनमा टाँसिनेछ, जसबाट स्वचालित रूपमा टोल भुक्तानी गर्न सकिनेछ । हाल यो प्रणाली जडान भइरहेको विभागले जनाएको छ ।
सुरुङमार्ग सञ्चालन र व्यवस्थापनलाई सुरक्षित र दिगो बनाउन २४/७ सेवा उपलब्ध गराइनेछ । आपतकालीन अवस्थामा उद्दार कार्य, आगलागी नियन्त्रण, पावर सप्लाई, भेन्टिलेशन, आन्तरिक सञ्चार, रिमोट मोनिटरिङ, आकस्मिक सुविधा तथा फायरफाइटिङलगायतका उच्च प्रविधियुक्त प्रणाली सञ्चालन र मर्मतसम्भार गर्न दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय अनुभव आवश्यक पर्ने भएकाले यो कार्य विशेषज्ञ सेवा प्रदायक मार्फत गरिने भएको छ ।
यसका लागि आवश्यक स्पेसिफिकेसन र म्यानुअल जापानी परामर्शदाताबाट तयार भई विभागीय प्रमुखबाट स्वीकृत भइसकेको छ । हाल विभागले सेवा प्रदायक परिचालनका लागि खरिद प्रक्रिया अघि बढाइरहेको छ । अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त भइसकेको र आवश्यक खरिद निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको विभागले जनाएको छ ।
त्यस्तै, लागत अनुमानका लागि आवश्यक नमूना स्वीकृत भइसकेको र हाल अनुमान तयार गर्ने कार्य भइरहेको छ । नमूना बोलपत्रसमेत सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा रहेको छ ।
सडक विभागका अनुसार सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गरी निकट भविष्यमा नागढुङ्गा सुरुङमार्ग सर्वसाधारणका लागि खुला गर्ने तयारी तीव्र गतिमा भइरहेको छ ।