Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

काठमाडौं ‘भ्यू टावर’ निर्माणबारे पुल्चोक इन्जिनियरिङ क्याम्पसले थाल्यो अध्ययन

काठमाडौं ‘भ्यू टावर’ निर्माणबारे पुल्चोक इन्जिनियरिङ क्याम्पसले थाल्यो अध्ययन

काठमाडौं, २२ फागुन । काठमाडौँ दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माणबारे प्राविधिक चेक जाँचका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसले अध्ययन अघि बढाएको छ ।

साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तलासम्म सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पपछि १२ तलाको बनाउने भनेर काम थालिएको भए पनि अहिले १२ तलालाई बढाएर २९ तला बनाउने तयारी कामपाको छ । प्राविधिकले जाँच गरेपछि उनीहरूकै सल्लाहमा तला थपको काम अघि बढाइने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो, भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोही अनुसार निर्माणको काम अघि बढाइएको हो । “अहिले हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरेको छ, थप्न मिल्छ कि मिल्दैन जस्ता विषयको अध्ययन अनुसन्धान गर्न क्याम्पसलाई जिम्मा दिएको हो”, काफ्लेले भने । चार हप्तामा सक्नेगरी १० दिनअघि क्याम्पसलाई उक्त जिम्मेवारी दिइएको कामपाको भनाइ छ ।

स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनदेखि सुरु गरेको हो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरे पनि निर्माणका लागि भने तोकेकोभन्दा बढी समय लागाइएको छ ।

सम्झौताअनुसार २०७८ साउनमा निर्माण सम्पन्न गरिसक्नुपर्ने हो । सम्झौताअनुसार निर्माण कम्पनीले वार्षिक रु एक करोड रकम कामपालाई तिर्नुपर्ने हुन्छ । उक्त रकम आजसम्म तिरिरहेको कामपाको भनाइ छ । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कलासंस्कृति झल्किने किसिमको हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x