‘हरित ऊर्जाको बजार विस्तारिकरण’का लागि सुरु भएको ‘पावर समिट २०२३’ आज सकिँदै

काठमाडाैं, ६ वैशाख । काठमाडाैंमा हिजाे मंगलबारबाट सुरू भएकाे ‘पावर समिट २०२३’ आज सकिने भएकाे छ । ‘हरित ऊर्जाको बजार विस्तारिकरण’का लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)ले मंगलबारदेखि सुरु गरेकाे ‘पावर समिट २०२३’ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
नेपालले हिजोबाट सुरु गरेको ‘पावर समिट २०२३’ आज सकिँदै छ । ‘हरित ऊर्जाको बजार विस्तारिकरण’का लागि सुरु भएको सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्र मुलुकको समृद्धिको बलियो आधार भएकाले यसमा थप लगानी जुटाउनुपर्नेमा जोड दिँदै नीतिगत एवम् व्यावहारिक रूपमा नै सरकारले यस क्षेत्रलाई समृद्धिको बलियो आधारका रूपमा मान्यता दिएको बताएका थिए ।
समिटको संरक्षक ऊर्जा मन्त्रालय र सहआयोजकमा लगानी बोर्ड रहेका छन् । सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका विशिष्ट व्यक्ति र दक्षिण एसियाली नेताहरूको उपस्थिति रहेको छ। इपानले पावर समिट नेपालको ऊर्जा क्षेत्रको बजार विस्तारमा कोसेढुंगा सावित हुने अपेक्षा गरेको छ ।
ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू लगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी छन् ।
सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि सम्झौता समेत गरिनेछ ।