यस वर्ष विपद्बाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने
काठमाडौं, २९ जेठ । यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरेको हो ।
सबैभन्दा बढी मधेस प्रदेशमा चार लाख र कोसी प्रदेशमा तीन लाख मानिस प्रभावित हुने अनुमान गरिएको जनाइएको छ । प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा दुई लाख, बागमती प्रदेशमा एक लाख, सुदूरपश्चिम प्रदेशमा एक लाख ४७ हजार, गण्डकी प्रदेशमा ६९ हजार र कर्णाली प्रदेशमा ३५ हजार मानिस विपद्बाट प्रभावित हुने आँकलन गरिएको हो । गत वर्ष २० लाखि मानिस प्रभावित हुने आँकलन गरिएको थियो ।
मनसुन भित्रिन केही दिन मात्रै बाँकी रहेकाले पूर्वतयारी तथा प्रतिकार्यका काम तीव्ररुपमा अघि बढिरहेका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनको काम चुस्तरुपमा अघि बढाउन यसअघि नै निर्देशन दिइसकेका छन् ।
सोही आधारमा आवश्यक पूर्वतयारी समन्वययात्मक काम तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण भएको पनि प्राधिकरणले जनाएको छ । आइतबार बसेको १८औँ बैठकले उक्त कार्ययोजना स्वीकृत समेत गरेको छ ।
कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाको जिम्मेवारीका साथै खोज, उद्धार तथा राहत सामग्रीको मौज्दातीको विवरण समेटिएको छ ।