सनराइज बैंकद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं, ३१ जेठ । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकको योगिकुटी शाखाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
निशुल्क आँखा शिविर कार्यक्रम जनता मा.वि शुद्धोधन गाउँपालिका ०७ रुपन्देहीमा सञ्चालन गरिएको थियो । संचालन भएको सो शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरु लिएका थिए ।
त्यस्तै, सनराइज बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा छिटाहा मावि छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधाहरु प्रदान गरिएको थियो । कार्यक्रममा १ सय ५१ सहभागीहरु थिए ।