बीआरआई कार्यान्वयनमा छलफल भइरहेको छ : मन्त्री साउद
काठमाडौं । सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराएको छ । राष्ट्रियसभाको बिहीवारको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी छ ।’
नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईसम्बन्धी सम्झौता भएको थियो । यद्यपि बीआरआईका कुन–कुन परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा भने कुनै निर्णय हुन सकेको छैन ।
यसअघि गत पुस १७ मा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले बीआरआई अन्तर्गतको परियोजना कार्यान्वयन भएको दाबी गरेका थिए । परराष्ट्रमन्त्री साउदले भने यसअघि पनि बीआरआईको कुनै पनि परियोजना अघि बढ्न नसकेको बताएका थिए ।
चीनका तत्कालीन विदेशमन्त्री वाङ यीको मार्च २०२२ मा सम्पन्न नेपाल भ्रमणमा हस्ताक्षर भएअनुसार केरुङ–काठमाडौं रेलवेको सम्भाव्यता अध्ययन तथा दुई देशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन भइहेको पनि परराष्ट्रमन्त्री साउदको भनाइ छ ।
परराष्ट्रमन्त्री साउदले गुण र दोषका आधारमा अन्तरराष्ट्रिय सम्बन्धमा स्वतन्त्र धारणा बनाउने नेपालको कूटनीतिक प्रयास भएको उल्लेख गर्दै भने, ‘गुण र दोषका आधारमा अन्तरराष्ट्रिय मुद्दामा स्वतन्त्र धारणा बनाउने, मतदान गर्ने तथा अन्तरराष्ट्रिय सम्बन्धलाई न्यायपूर्ण, निष्पक्ष, उत्तरदायी र सहयोगात्मक बनाउने दिशामा नेपालको कूटनीतिक प्रयास उन्मुख छ ।’
राष्ट्रियसभामा विनियोजन विधेयक, २०६० अन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रममाथि भएको छलफलको क्रममा पूर्वपरराष्ट्रमन्त्री विमला पौड्याल राईले नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि भन्ने जिज्ञासा राखेका थिए ।
परराष्ट्र नीति सञ्चालनका मूलभूत आधार नेपालको संविधानले निर्दिष्ट गरेको र असंलग्नता ती आधारमध्ये प्रमुख आधार रहिआएको छ । नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकीलगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्दै आएको भन्दै नेपालको स्वतन्त्र, सन्तुलित, निष्पक्ष र वस्तुनिष्ठ दृष्टिकोणका कारण विश्व जगतमा विश्वसनीयता र सम्मान आर्जन हुन सकेको पनि परराष्ट्रमन्त्री साउदको भनाइ छ ।