कञ्चनपुर भन्सारबाट लक्ष्यको ७१ प्रतिशत राजस्व संकलन
महेन्द्रनगर । मन्दी र आयातमा भएको ह्रासले कञ्चनपुर भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन । गत आर्थिक वर्ष २०७९÷८० मा भन्सार कार्यालयले वार्षिक रू. ५८ करोड ९० लाख राजस्व संकलनको लक्ष्य लिएकोमा ४२ करोड १० लाख मात्र राजस्व असुली भएको भन्सार कार्यालयले बताएको छ ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले वार्षिक लक्ष्यको ७१ दशमलव ४ प्रतिशत राजस्व संकलन भएको जानकारी दिए । ‘आयात नै घटेकाले राजस्व संकलनमा कमी आएको हो,’ उनले भने ।
अघिल्लो आर्थिक वर्षमा पनि लक्ष्यभन्दा ६ करोड राजस्व कम उठेको उनले बताए । अघिल्लो वर्ष कार्यालयले रू. ५२ करोड ७७ लाख राजस्व असुलीको लक्ष्य राखेकोमा ४६ करोड २२ लाख संकलन गरेको थियो ।
गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विद्युतीय सामग्री, फलफूल र तरकारी लगायतका सामग्री भारतबाट आयात हुने गरेको छ । महाकाली नदीमा रहेको शारदा ब्यारेक (बनबासा पुल) सीमित समय खुल्ने गरेको र ठूला चारपांग्रे सवारीसाधनको आवागमन प्रभावित भएकाले ठूलो परिणाममा आयात नहुने गरेको भन्सार कार्यालयको भनाइ छ । प्रस्तावित दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण भए यहाँ आर्थिक गतिविधिसमेत बढ्ने आशा गरिएको छ ।
यता, कैलाली भन्सार कार्यालय मातहत रहेको कञ्चनपुरको बेलौरी नगरपालिकाको बेलौरी छोटी भन्सार प्रयोगमा नआउँदा स्थानीयवासी आन्दोलित छन् । छोटी भन्सार कर्मचारीविहीन, मर्मतसम्भारविहीन बनेपछि बेलौरी उद्योग वाणिज्य संघ र स्थानीय व्यापारी त्यसको विरोधमा तालाबन्दी गरेका छन् । केही वर्षयता प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको छोटी भन्सार सञ्चालनका लागि मन्त्रीदेखि नेतासम्मले आश्वासन दिए पनि त्यो पूरा हुन सकेको छैन ।