व्यवसायीले ६० हजार अमेरिकी डलरसम्मको मालसामान ल्याउन पाउने

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा बढाएको छ । नयाँ निर्देशिकाअनुसार अब व्यवसायीले ६० हजार अमेरिकी डलरसम्मको माल सामान आयत गर्न पाउनेछन् ।
सोमबार राष्ट्र बैंकले एकीकृत परिपत्र –२०७९ मा संशोधन गर्दै नयाँ व्यवस्था थप गरी यसअघि एक पटकमा अधिकतम ५० हजार अमेरिकी डलरको मालसामान आयात गर्ने सुविधालाई बढाएर ६० हजार पु¥याइएको हो । भारतबाट हुने आयातको हकमा भने यस्तो सीमा तीन करोड भारतीय रुपैयाँसम्मको कायम गरिएको छ ।
नयाँ व्यवस्था अनुसार अब एउटै निर्यातकर्ताबाट वस्तु आयातका लागि पटक पटक सटही सुविधा लिन नपाइने भएको छ । अब कम्तीमा सात दिन कटेपछि मात्रै यस्तो सुविधा लिन पाउने पाइने परिपत्रमा उल्लखे छ । अब उद्योगहरूले गर्ने आयातको हकमा २ प्रतिशत र व्यापारिक संस्थाहरूले आयात गर्ने हकमा १० प्रतिशत धरौटी राख्नु पर्ने व्यवस्थाका अतिरिक्त विद्युतीय भुक्तानी प्रणाली अन्तर्गत हुने कारोबारमा उद्योगले एक प्रतिशत र व्यापारिक संस्थाले ३ प्रतिशत धरौटी राख्नु पर्ने छ ।
सूचना, प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग व्यवसायलाई विदेशमा सम्पर्क कार्यालय स्थापना गर्नका लागि विदेशस्थित बैंक खातामा रकमान्तर गर्न त्यस्तो व्यवसायीले अघिल्लो आर्थिक वर्षमा आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्मको सीमामा रही सटही सुविधा पाउने भएका छन् । वायुयान सेवा सञ्चालक संस्थालाई भने अमेरिकी डलर एक लाखसम्मको सटही सुविधा पाउने व्यवस्था गरिएको छ । यसअघि यस्ता कम्पनीहरुले ५० हजार डलर मात्रै सुविधा पाउँदै आएका थिए ।