Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन खुला

रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन खुला

काठमाडौं, २३ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज (साउन २३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियम बापत १५७ रुपैयाँ थप गरेको छ ।

आईपीओनमा आज बैंकिङ समयदेखि आवेदन दिन सकिनेछ । यो आईपीओ खरिदका लागि साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भदौ ५ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम पाँच हजार ४०० कित्तासम्म माग गर्न सकिनेछ ।

कुल कित्ता शेयरमध्ये १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरी बाँडफाँट गरिएको छ । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै बिक्री गर्ने जानकारी दिएको छ ।

यीबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि छुट्याएर ९६ लाख कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड छ । बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर वेबसाइटमार्फत समेत आवेदन दिन सकिनेछ ।

आर्थिक वर्ष २०७८/७९ सम्मको वास्तविक विवरण अनुसार कम्पनी ७३ करोड ९१ लाख रुपैयाँ सञ्चित नाफामा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४६ पैसा र प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ २९ पैसा छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्न गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी त्रिपल बी प्लस प्रमाणपत्र प्रदान गरेको छ । यो रेटिङले कम्पनीले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउने र यस्तो कम्पनीले क्रेडिट जोखिम बहन गर्न सक्ने उल्लेख छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x