भगवति हाइड्रोपावरले प्रिमियममा आईपीओ निष्कासन गर्ने, कहिलेदेखि आवेदन दिन सकिन्छ ?

काठमाडौं, २९ साउन । भगवति हाइड्रोपावर डभलपमेण्ट कम्पनी लिमिटेडले भदौं ५ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि उक्त आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि सात लाख १२ हजार २२० कित्ता शेयर प्रतिकित्ता ११६ रुपैयाँमा निष्कासन गर्न लागेको हो ।
यो आईपीओमा आवेदन दिने अन्तिम मिति साउन भदौ ८ गतेसम्म रहने बताइएको छ । तर, सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा भदौ १९ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ । सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा पाँच हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको ‘मेरो शेयर’ वेबसाइटबाट पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारीपूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात् आठ करोड ५८ लाख ९७ रुपैैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँ १६ रुपैयाँ थप गरी आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
सोही अनुसार कम्पनीले प्रतिशेयर ११६ रुपैयाँ दरका आठ लाख ५८ हजार ९७ कित्ता साधारण शेयर निष्कासनमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि पाँच लाख ७२ हजार ६५ कित्ता निष्कासन गरेको थियो । ८५ हजार ८१० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरेको थियो । त्यसैगरी, कम्पनीले १७ हजार १६२ कित्ता सेयर कर्मचारीहरूका लागि र ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिसकेको छ ।
कम्पनीले कास्कीको पोखरामा रहेको विजयपुर खोलाबाट ४.५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार ८१८ रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ सम्म कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी १९ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै वास्तिविक प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४१ पैसा रहेको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।