घोराही सिमेन्टको शेयर मूल्य आज बढ्ला कि घट्ला ?

काठमाडौं, २९ साउन । आईपीओ सूचीकृत भएर काराबोर खुलेको पहिलो दिन आइतबार घोराही सिमेन्ट इन्डष्ट्रीको शेयर मूल्य प्रतिकित्ता ५६ रुपैयाँ ५० पैसा घट्यो । महँगोमा प्राथमिक शेयर (आईपीओ) खरिद गरेका लगानीकर्ता १३० रुपैयाँ फाइदा भएपछि आइतबार अतालिएर बेच्नतर्फ लागेको देखिन्छ । यो कम्पनीले फर्जी कागजात बुझाएर प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको भन्दै व्यापक विरोध भएको थियो । त्यही भएर पनि पहिलो दिन कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको अनुमान लगानउन सकिन्छ ।
आईपीओ सूचीकृत भएको जुनसुकै कम्पनीको शेयर मूल्य केही दिन लगातार बढ्ने गरेको छ । तर, यो कम्पनीको शेयर मूल्य पहिलो दिन नै ९.९९ प्रतिशतले घटेर सर्वाधिक मूल्य घट्ने पहिलो नम्बरमा रह्यो ।
यसले आगामी दिनमा पनि लगानीकर्ता आत्तिएर सेयर बिक्री गर्नेतर्फ अग्रसर हुन सक्ने देखिएको छ । लगानीकर्ताले यसरी आत्तिएर बेच्दा आगामी दिनमा पनि यो कम्पनीको शेयर मूल्य अझै घट्न सक्छ । घोराहीले आईपीओ जारी गर्दा अंकित मूल्य १०० रुपैयाँमा प्रतिकित्ता ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेको थियो । यसरी कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गरेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गत बिहीबार सूचीकृत भएको कम्पनीको आइतबार पहिलो कारोबार ५६५ रुपैयाँमा खुलेको थियो । ४३५ रुपैयाँमा आईपीओ खरिद गरेका लगानीकर्तालाई पहिलो कारोबारमै प्रतिकित्ता १३० रुपैयाँ फाइदा भएपछि बेच्नतर्फ लागेका हुन् ।
आइतबार यो कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५८१ रुपैयाँ ४० पैसासम्म पुगेको थियो । तर, अन्तिममा बन्द हुँदा कम मूल्य ५०९ रुपैयाँमै बन्द भएको थियो ।