१० अर्बको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’को काम कहाँ अल्मलियो ?

काठमाडौं, २९ साउन । नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ को घोषणा भएको तीन वर्ष पुरा भएको छ । २०७८ वैशाखमा अर्थमन्त्री, अर्थसचिव तथा गभर्नरको उपस्थितिमा यो फण्डको घोषणा भएको थियो । तर, अहिलेसम्म यो फण्डले गति लिन भने सकेको छैन ।
एनआरएन नेपाल डेभलपमेन्ट फण्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुने गरी घोषणा गरिएको थियो ।
उद्देश्य अनुसार काम गर्न अहिले पनि यो फण्डका लागि आवश्यक कानुनी प्रक्रिया मिलाइ रहेको फण्डका प्रमख कार्यकारी अधिकृत अनलराज भट्टराईले जानकारी दिए । “लक्ष्य अनुसार काम गर्न आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने भएकाले अहिले पनि मन्त्रालयसँग समन्वय भइरहेको छ। केही समयमा नै यसको विस्तृत प्रतिवेदन सार्वजनिक हुनेछ,” भट्टराईले भने ।
गैरआवासीय नेपाली संघका तत्कालिन अध्यक्ष कुमार पन्तले केही वर्षमा फण्डमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँभन्दा बढी पुर्याउने घोषणा रेको थिए। उनी पछिका पदाधिकारीहरूको एक कार्यकाल सकिएको छ । उनीहरूले यो फण्डको विषयमा केही पनि बोलेनन् ।
यो फण्डको अध्यक्षमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो रहेका छन् । नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ। यो फण्ड २०७७ चैत ३० गते एनआरएन। नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको छ ।
गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै यो कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन गरिने योजना रहेको बताइएको छ।