पाँच नम्बर प्रदेशको नीति कार्यक्रम- विद्युतिय वस सञ्चालनदेखि एक गाउँ एक उत्पादन
बुटवल,जेठ २६ । पाँच नम्बर प्रदेश सरकारले प्रदेशे भित्र विद्युतिय बस सेवा र मोनोरेल सञ्चालनदेखि एक गाउँ एक उत्पादन सम्मका कार्यक्रमहरु सरकारको नीति कार्यक्रममा समेटेको छ । प्रदेश प्रमुख उमाकान्त झाले सार्वजनिक गर्नु भएको सरकारको आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश सभामा नीति कार्यक्रममा भैरहवा-बुटवल, नेपालगन्ज–कोहलपुर र घोराही–तुलसीपुरमा विद्युतीय बस सेवाको लागि सम्भाव्यता अध्ययन गर्ने, एक गाउँ एक उत्पादन, एक पालिका एक सितभण्डार, एक घर एक धाराको नीति अनुसार प्रदेशका सबै घर परिवारमा शुद्ध खानेपानी उपलब्ध गराउने समेटिएको छ। त्यस्तै नेपालगन्ज–कोहलपुर, घोराही–तुलसीपुर, बुटवल–भैरहवा तथा आसपासका क्षेत्रलाई समेटेर तीन महानगरको स्थापना गर्ने,‘एक गाउँ एक पोखरी’ निर्माण, आर्थिक वर्ष २०७५/७६ देखि ‘प्रदेश स्मार्ट कृषि गाउँ कायर्क्रम’ सञ्चालन गर्ने, जगदीशपुर तालक्षेत्रमा ‘आगन्तुक चरा अध्ययन केन्द्र’स्थापना गर्ने लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा राखिएको छ ।
सरकारले फागुन ३ गतेलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने जनाएको छ। सो दिन प्रदेशको हरेक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्नेहरुलाइ पदकले विभूषित गरिने छ। सरकारले अघि सारेका नीति तथा कार्यक्रममा विद्युतिय बस, मोनोरेल सञ्चालनदेखि कृषि सूचना अनुसन्धान प्रदेशमा भूमि बैंक स्थापना गरिने र सधैं पहिरोले सास्ती दिने सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा वैकल्पिक सडक निर्माणदेखि सिद्धबाबा डाँडो कटान गर्ने नीति पनि अगाडि सारिएको छ।