एक वर्षमा ६२ लाख थपिए निक्षेप खाता, पुग्यो जनसंख्याको १७५ प्रतिशत
काठमाडौं, २० भदौ । नेपालमा एक वर्ष अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता संख्या एक वर्षमै ६२ लाखभन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकको गत असार सम्मको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निक्षेप खाता करीब १४ प्रतिशतले बढेको हो । यो वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा खोलिएको निक्षेप खाताको मात्र तथ्यांक हो ।
केन्द्रीय बैंकका अनुसार गत असार अन्त्यसम्ममा कुल निक्षेप खाता संख्या ५ करोड ११ लाख ७७ हजार ९२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ४ करोड ४९ लाख ७१ हजार ९६९ थियो ।
तीन प्रकारका बैंक तथा वित्तीय संस्थामा खोलिएको खाता संख्या जनसंख्यासँग तुलना गर्दा १७५.४७ प्रतिशत पुगेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५७८ रहेको छ । एउटै व्यक्तिको एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा खाता हुने भएकाले यस्तो तथ्यांक देखिएको हो । यद्यपि अझै पनि दूरदराजसम्मका नागरिकको बैंक खाता खोलिएको भने पाइँदैन ।
नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थामा कायम कर्जा खाता संख्या भने १८ लाख ४५ हजार २१३ रहेको छ । गतवर्ष कर्जा खाता १८ लाख २९ हजार ४४ ओटा रहेका थिए । यसले एक वर्षमा १६ हजार १६९ ओटा मात्र कर्जा खाता खुलेको देखिन्छ ।