माछापुच्छ्रे बैंककाे वार्षिक साधारण सभा आगामी असोज १८
काठमाडाैं, २७ भदाै । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैंक चालू आ.व. २०७९÷८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो । बैंकको शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट रु. १,३६,४२,०१,६९२÷—(चुक्तापूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९÷—(चुक्तापूँजीको ०.७० प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरे संगै मिति २०८०÷०५÷२६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उपरोक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । बंैकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैँया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैँया संचित छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।