‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने
काठमाडौँ, ७ असोज । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदलाई सार्वजनिक वित्त व्यवस्थापन सुधारको एउटा महत्त्वपूर्ण अङ्गका रूपमा अगाडि बढाउने भएको छ ।
कार्यालयले नमूना बोलपत्र कागजात नेपाली भाषामा बनाइने र प्रोक्युरमेन्ट क्लिनिकमा सबै स्थानीय तहलाई समेट्ने तथा तालिम सामग्रीलाई अनलाइन प्रविधिबाट समेत सञ्चालन गर्ने कार्ययोजना तय गरेको छ ।
खरिद तथा सम्झौता व्यवस्थापनका विविध आयामलाई समेटेर पूर्ण अन्तरक्रियामा आधारित सार्वजनिक निकायको खरिद क्षमता अभिवृद्धि गर्न चालु आर्थिक वर्षमा प्रोक्युरमेन्ट क्लिनिक कार्यक्रममा सबै स्थानीय तहलाई सहभागी बनाइने सचिव डा. दामोदर रेग्मीले बताए ।
उनले भने, ‘आर्थिक वर्षमा गण्डकी प्रदेश र बागमती प्रदेशमा सञ्चालित उक्त कार्यक्रमको प्रभावकारिता र सहभागीबाट व्यक्त विचारका आधारमा कार्यालयले ती प्रदेशका यसअघि सहभागिता जनाउन नपाएसहित सबै स्थानीय तहको क्षमता अभिवृद्धि गरिनेछ ।’
प्रोक्युरमेन्ट क्लिनिक एउटा सफल अन्तरराष्ट्रिय अभ्यास भएको र यस विधिबाट खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास गर्न सकिने कार्यालयको दाबी छ ।
स्थानीय तह प्रदेश र सङ्घका कर्मचारीको सहभागितामा प्रोक्युरमेन्ट क्लिनिक कार्यक्रम सञ्चालन गरिनुका साथै खरिद विधि र प्रक्रियासम्बन्धी भिडियोहरू तयार गरी वेबसाइट वा युट्युबमा राखी इच्छुकले आफ्नै कार्यस्थलबाट अनलाइन तालिम लिनसक्ने प्रबन्ध कार्यालयले मिलाएको छ ।
सबै सार्वजनिक निकायको खरिद क्षमता अभिवृद्धि हुनसकेमा मात्र पुँजीगत खर्च बढ्न सक्ने र प्रतिस्पर्धी तथा मितव्ययी खरिद हुनसक्ने रेग्मीले बताए । सोही कारण यस आर्थिक वर्षमा धेरै सुधारका कार्यक्रम अगाडि बढाउन थालिएको छ ।