भदौसम्मको निर्जीवन बीमा व्यवसाय, व्यापारमा ‘नम्बर वान’ बन्यो सलिको
काठमाडौं, ११ असोज । निर्जीवन बीमा कम्पनीहरुले पछिल्लो २ महिनामा ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्मको तथ्याङक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले भदौ महिनामा मात्र ३ अर्ब ९ करोड ९० लाख रुपैयाँको व्यापार गरेका हुन् ।
भदौ महिनासम्म यी कम्पनीले ४ लाख ८ हजार ९७३ वटा बीमालेख बिक्री गरेका छन् । तर, भदौमा मात्रै भने १४ निर्जीवन बीमा कम्पनीले १ लाख ९५ हजार १७० वटा बीमालेख बिक्री गरेका छन् ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै व्यापार सगरमाथा लुम्बिनी (सलिको)ले गरेको छ । दुई महिनामा सलिकोले ९१ करोड ४७ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । साउन र भदौमा कम्पनीले ४६ हजार ९५८ वटा बीमालेख बिक्री गरेको छ । सलिकोले भदौमा मात्रै ३६ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भदौमा कम्पनीले २२ हजार ४७८ वटा बीमालेख बिक्री गरेको छ ।
व्यवसायको आधारमा दोस्रो नम्वरमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी छ । चालु आवको २ महिनामा कम्पनीले ७३ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साउन र भदौ महिनामा कम्पनीले ५० हजार ८६१ वटा बीमालेख बिक्री गरेको छ । भदौमा मात्रै कम्पनीले २३ हजार ६७७ बीमालेख बिक्री गरि ३० करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
मर्जरअघि पहिलो नम्बर भन्दै आएको शिखर इन्स्योरेन्स अहिले भने तेस्रो नम्बरमा पुगेको छ । मर्जरपश्चात अन्य कम्पनीहरु बलियो बन्दै गएका कारण पनि यसको व्यवसाय कम भएको देखिएको हो । तर, पहिलेको तुलनामा कम्पनीने व्यवसाय वृद्धि गर्ने कोसिस गरिरहेको छ । चालु आवको पहिलो दुई महिनामा शिखरले ६६ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । सो अवधिमा कम्पनीले ४३ हजार १८६ वटा बीमालेख जारी गरेको छ । भदौमा मात्रै कम्पनीले ३२ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो महिनामा कम्पनीले २० हजार ६०३ वटा बीमा जारी गरेको छ ।
त्यसैगरी हिमालयन एभरेष्ट पनि व्यापारमा आक्रमक नै देखिएको छ । कम्पनीले २ महिनामा ६४ करोड २१ लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले साउन र भदौमा ३७ हजार ३८७ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । भदौमा मात्रै हिमालयन एभरेष्टले १७ हजार ९१७ वटा बीमालेख बिक्री गरि २९ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
सबैभन्दा कम व्यवसाय भएको नेपाल इन्स्योरेन्स क्रम्पनी लिमिटेड देखिएको छ । यो कम्पनीले २७ हजार २२ वटा बीमालेख बिक्री गरी २३ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ ।
कुन कम्पनीको बीमा शूल्क आर्जन कति ?