खाद्यले खसीबोका र च्यांग्रा आज ८ बजेदेखि बिक्री गर्ने
काठमाडौं, ३० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका लागि खसीबोका र च्यांग्रा आजदेखि बिक्री गर्ने भएको छ । कम्पनीले थापाथलीको वाग्मती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका र च्यांग्रा बिक्री गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।
सोमबार खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथलीमा आएका थिए । “दसैँका लागि बाहिरी जिल्लाबाट खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालयमा आपुगेका छन् । आजबाट बिक्री गरिनेछ,” उनले भनिन्, “खरिद गरिएका सबै खसीबोका र च्यांग्रा अझै आइपुगेको अवस्था भने छैन । आज पनि आउँछन् । आउने क्रम जारी रहन्छ । बिक्री पनि आजबाट भइरहन्छ ।”
कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६८० कायम गरेको छ भने जिउँदो च्यांग्राको मूल्य प्रतिकेजी १ हजार २६० रुपैयाँ निर्धारण गरेको छ । निर्धारित मूल्यभन्दा १० रुपैयाँ सस्तो खसीबोका र च्यांग्रा सर्बसाधारणलाई उपलब्ध गराउँने सुवेदीले बताइन् ।
कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको हो । कम्पनीको थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री गरिनेछ । यो वर्ष २ हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ ।