आर्थिक वर्ष को दुई महिनामा नेपाल सरकारको खर्च रु.१३१ अर्ब १४ करोड
नेपाल राष्ट्र बैंकले नेपालको वर्तमान समष्टिगत आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ । जसअन्तर्गत नेपाल सरकारको खर्च रु.१३१ अर्ब १४ करोड र राजस्व परिचालन रु.१४१ अर्ब ८ करोड रहेको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा नेपाल सरकारको कुल खर्च रु.१३१ अर्ब १४ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च रु.८७ अर्ब ६६ करोड, पुँजीगत खर्च रु.८ अर्ब १६ करोड र वित्तीय व्यवस्था खर्च रु.३५ अर्ब ३१ करोड रहेको छ
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.१४१ अर्ब ८ करोड भएको छ । यस अन्तर्गत कर राजस्व रु.१२७ अर्ब ९६ करोड र गैर कर राजस्व रु.१३ अर्ब १२ करोड परिचालन भएको नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्यांकले देखाएको छ ।
प्रदेश सरकारहरुको कुल खर्च रु.४ अर्ब ७७ करोड र स्रोत परिचालन रु.२१ अर्ब १६ करोड रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.१५ अर्ब १५ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु ६ अर्ब १ करोड रहेको छ ।