अनलाइनबाटै श्रम स्वीकृति फाराम भर्न पाइने
काठमाडाैं,१ कात्तिक । श्रम स्वीकृतिका लागिअनलाइन फाराम नगरपालिकाबाटै निःशुल्क भर्न पाइने भएकाे छ ।
वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहको रोजागार शाखाबाटै भर्न सकिने व्यवस्था रहेको त्यहाँका प्राविधिक सहायक धीरज ऐरले बताए । चालु आवको वैशाखदेखि पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृतिका लागि आवेदन लिन थालिएको छ ।
यो सेवा सञ्चालन भएपछि यस शाखाबाट ३२ जनाले श्रम स्वीकिृतिका लागि आवेदन भरेका छन् । आवेदन भर्नेहरुमा पुरुषको सङख्या अधिक र महिलाको सङख्या न्यून रहेको छ । श्रम स्वीकृतिका लागि फारम भर्न आउनेमा मलेसिया, दुवई, साउदी अरेविया, कतार, संयुक्त अरब इमिरेटस, कुवेत, बहराइन, पोर्चुगललगायत देशमा रोजगारीमा जाने रहेका छन् ।
“वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।वैदेशिक रोजगारलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित, भरपर्दो र सहज बनाउनका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाईनमार्फत फाराम भर्ने व्यवस्था गरिएको रोजगार शाखाका संयोजक कृष्ण भट्टले जानकारी दिए ।
उनका अनुसार श्रम स्वीकृति लिएसँगै कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि रु दुई हजार दुईसय बुझाउनुपर्ने हुन्छ । यसैगरी, १८ वर्षदेखि ३५ वर्ष समूहका लागि रु तीन हजार सात सय आठ, ३६ देखि ५० वर्ष समूहका लागि रु चार हजार नौ सय, शुःल्क निर्धारण गरिएको छ । सेवाग्राहीले शुःल्क खल्ती एप तथा ई सेवाबाट पनि बुझाउन सकिने व्यवस्था गरिएको छ ।